काठमाडौं, फागुन ३- खाता खोल्नु पूर्व भर्नुपर्ने फर्ममा बैंक कर्मचारीले गलत अंक चढाएमा यसबाट ग्राहकलाई पर्ने नोक्सानीको लागि बैंक जिम्मेवार हुने छैन भन्ने वाक्य हुन्छ।
बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खातामा तपाईंले एक लाख रुपैयाँ जम्मा गर्नुभयो। तर, बैंकका कर्मचारीले शून्य कम गरेर १० हजारमात्रै खातामा चढाए भने तपाईंको बाँकी ९० हजार गुम्छ। यसको जिम्मेवारी बैंकले लिँदैन।
पैसा राख्ने सबैभन्दा सुरक्षित ठाउँ बैंकमा पनि यस्तो हुन्न होला भन्ने तपाईंलाई लाग्न सक्छ। तर, तपाईंले बैंकमा पैसा जम्मा गर्न खाता खोल्नु अघि भर्नुपर्ने फर्ममा यस्तै व्यहोराका सर्त हुन्छन्। प्रायः सबैजसो सर्वसाधारणले यस्ता सर्त नपढी हस्ताक्षर गरी खाता खोल्छन्।
वाणिज्य बैंक तथा वित्तीय संस्थाले खाता खोल्नु पूर्व भर्नुपर्ने फर्ममा बैंक कर्मचारीले गलत अंक चढाएमा यसबाट ग्राहकलाई पर्ने नोक्सानीको लागि बैंक जिम्मेवार हुने छैन भन्ने वाक्य हुन्छ। सबै बैंक तथा वित्तीय संस्थाले यही वाक्य भएको फर्म प्रयोगमा ल्याइरहेका छन्।
बैंक तथा वित्तीय संस्थाले कम्पनीलाई अपुग भए जुनसुकै किसिमले असुल गर्ने तर, ग्राहकका हकमा भने बैंक जिम्मेवार नहुने फर्ममा हस्ताक्षर गराउँछन्।
अधिकांश बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्ने फर्मको नमुना 'बैंकले इन्ट्रीहरु सही ढंगले खातामा होस् भन्नका लागि पूरा सावधानी अपनाउने छ। तर, यसो हुँदाहुँदै पनि गलत इन्ट्री हुन गएमा त्यसको बदलामा सही इन्ट्री गर्ने तथा बैंकलाई अपुग हुन गएको कुनै पनि रकम असुल उपर गर्ने अधिकार बैंकमा निहित रहनेछ। यस किसिमको गलत इन्ट्रीहरुबाट ग्राहकलाई पर्ने नोक्सानीको लागि बैंक जिम्मेवार हुने छैन,' लेखिएको हुन्छ।
केही संस्थाको फर्ममा 'खाता सन्तोषजनक ढंगबाट सञ्चालन भइरहेको छैन भन्ने बैंकलाई लागेमा वा अन्य जुनसुकै कारणबाट पूर्वसूचना बिना कुनै खाता बन्द गर्ने अधिकार बैंकसँग सुरक्षित रहनेछ र यसो गर्नुको कारणबारे ग्राहकलाई बताइरहन बैंक बाध्य हुने छैन,' भन्ने लेखिएको हुन्छ।
यी दुई खाले फर्मको नमुनामा बैंक तथा वित्तीय संस्थाले भाषागत केही परिवर्तन गरे पनि आसय भने उही नै छ। केही दिनअघि खाता खोल्नका लागि मेगा बैंक पुगेका गणेश पराजुली फर्मको व्यहोरा हेरेपछि त्यसै फर्किए। 'फर्म भर्दा ज्यादै नै गैरजिम्मेवार सर्त देखेपछि म खाता नखोली फर्किएँ,' मेगा बैंकका संस्थापक सेयरधनीसमेत रहेका उनले भने, 'यसबारेमा मैले बैंकको विभागीय प्रमुखसँग कुरा गरें। उनले गल्ती महशुस गर्दै बुँदा सच्याउने बताए।'
हिमालयन हेन्डीक्राफ्टका प्रबन्ध निर्देशक पराजुलीलाई बैंकबाट फर्किएको एक सातापछि त्यहाँका कर्मचारीले खाता खोल्नसमेत बोलाए। 'मलाई बोलाएपछि सर्तहरु परिवर्तन गरेको भनेर सोधें,' उनले भने, 'तत्काल परिवर्तन गर्न नसकिने उत्तर आएपछि म खाता खोल्नै गएको छैन।'
बैंकरहरु भने फर्मको सर्त त्यस्तो भए पनि व्यावहारिक रुपमा बैंक जवाफदेही हुने बताउँछन्। 'पुरानो फर्म सवैले प्रयोग गरेकाले त्यस्तो भएको हो,' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले नाम उल्लेख नगर्ने सर्तमा नागरिकसँग भने, 'निक्षेपकर्ताको सुरक्षा नै बैंकहरुको पहिलो कर्तव्य भएकाले व्यावहारिक रुपमा बैंक जवाफदेही हुने छ।'
Source:सुदर्शन सापकोटा, http://news.nagariknews.com/economy/banking-money/23372-2011-02-15-07-21-16.html
Mittwoch, 16. Februar 2011
Abonnieren
Kommentare zum Post (Atom)

Keine Kommentare:
Kommentar veröffentlichen