काठमाडौं, माघ २१ (नागरिक)- नेपाल बैंकर्स संघको अध्यक्षमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत तथा निवर्तमान अध्यक्ष शशीन जोशी थिए।
अध्यक्षका अर्का प्रतिस्पर्धी किष्ट बैंकका प्रबन्ध निर्देशक कमलप्रसाद ज्ञवाली थिए। निर्वाचित भएपछि संघका १५औं अध्यक्ष राणाले राष्ट्र बैंक र अर्थ मन्त्रालयसँग समन्वयकारी भूमिका खेल्दै अगाडि बढ्ने बताए।
उनले आफ्नो कार्यकालमा बैंकको भूमिकाबारे बुझाउँदै सहकारीको पैसा बैंकतिर तान्ने प्रतिबद्धता जनाए। 'अहिले जिल्लातिर सहकारी र बैंकबीचको फरक देखिएन,' उनले नागरिकसँग भने, 'आफ्नो कार्यकालमा बैंकको भूमिकाबारे बुझाउँदै विश्वासको वातावरण बनाउने छु।'
नवनिर्वाचित अध्यक्ष राणाले अहिलेको तरलता अभावको विषयमा राष्ट्र बैंकसँग कुरा गर्दै रिपोको दर राष्ट्र बैंक र बैंकरहरु मिलेर तोक्ने पहिलेकै अवस्थामा फर्काउन प्रयास गर्ने जानकारी दिए। उनले प्रमुख कार्यकारीको तलब सम्बन्धित बैंकको सञ्चालक समितिलाई नै तोक्ने अधिकार दिन राष्ट्र बैंकसँग पहल गर्ने बताए।
उनले कर्जा र ब्याजका विषयमा राष्ट्र बैंकसँग कुरा गर्ने बताए। 'अहिले उद्योग धन्दा संकटमा परेकाले ब्याज तिर्न सकिरहेका छैनन्,' उनले भने, 'रियलस्टेट, क्रसरजस्ता उद्योगले साँवाको व्याजतिरेपछि निश्चित अवधिसम्मका लागि साँवा नवीकरण गर्ने व्यवस्था गर्न राष्ट्र बैंकसँग आग्रह गर्नेछु।'
३१ वाणिज्य बैंक र २ विकास बैंक गरी ३३ बैंकका प्रमुख कार्यकारीहरु सदस्य रहेको संघमा सहमति नभएपछि निर्वाचन भएको हो। वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा अध्यक्ष हुने नजीर रहेको संघमा ज्ञवालीको उम्मेदवारी परेपछि जोशीले आफूलाई निरन्तरता दिएका थिए।
Source:http://nagariknews.com/economy/industries/23067-2011-02-04-08-04-43.html
Sonntag, 6. Februar 2011
Abonnieren
Kommentare zum Post (Atom)

Keine Kommentare:
Kommentar veröffentlichen