Dienstag, 8. Februar 2011

अर्थमन्त्री: देशको आवश्यकतासँग सम्झौता गरी नयाँ ढँगबाट सोच्न सक्ने साहसी भन्दा पनि आफु र पार्टीप्रति बफादार भरत मोहन अधिकारीलाई

अर्थतन्त्रलाई माथि उकास्न देशले उर्जायुक्त, आंटिलो अर्थमन्त्री खोजिरहेको थियो। तर, प्रधानमन्त्री झलनाथ खनालले देशको आवश्यकतासँग सम्झौता गरी नयाँ ढँगबाट सोच्न सक्ने साहसी भन्दा पनि आफु र पार्टीप्रति बफादार अर्थमन्त्री भरत मोहन अधिकारीलाई चयन गर्दैछन्।


बढ्दो युवा बेरोजगारी, दैनिक उपयोग हुने समानको उच्च मूल्यबृद्धि, कमजोर पुर्वाधार, वित्तीय र श्रमिक तथा निजी क्षेत्रका व्यवसायीबीच तनाव आम जनताका समस्या हुन्। अर्थमन्त्रीको कुशल नेतृत्वले मात्र यी समस्या कम हुन सक्छन्। पार्टीका पुराना नेता भरतमोहनलाई चौथो पटक अर्थमन्त्री बनाएर खनालले अर्थतन्त्रसँग सम्बन्धित जनताले प्रत्यक्ष झेल्दै आएका कठिनाई भन्दा पनि मुख्य समस्या राजनीति र सत्तासमिकरण टिकाउनु हो भन्ने सन्देश दिएका छन्।

आर्थिक समस्याले राजनीतिक तनाव ल्याउँछ भन्ने पछिल्लो उदाहरण इजिप्ट हो। महँगी भष्ट्रचार, वेरोजगारीले त्यहाँ जनविद्रोह भयो। तर खनालले अर्थमन्त्री नियुक्त गर्दा यो उदाहरण बिर्सेका छन्। अर्थ प्रभावशाली र संवदेनशील मन्त्रालय हो। पैसासँग सम्बन्ध भएकाले विवादमा पनि आउँछ। यो नियुक्तीले प्रधानमन्त्री अर्थमन्त्रीले पार्टी र आफुलाई ढाँटेर कुनै पनि काम गर्दैनन् भनी ढुक्क मात्र हुन सक्छन्।

भरतमोहनसँग अर्थ मन्त्रालयमा पटक पटक काम गरेको अनुभव त छ। उनको इमान्दारीतामा पनि प्रश्न उठाउन सकिदैंन। तर, पछिल्लो पटक अर्थमन्त्री रहँदा र त्यसपछि सार्वजनिक भएका टिप्पणीहरुले उनमा नयँं सोचको अभाव छ, भन्ने देखाएको थियो। दैनिक प्रशासनदेखि अर्थतन्त्रलाई नयाँ गति दिने जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले अर्थमन्त्री बढी सक्रिय हुनुपर्छ। मन्त्रिमण्डल भित्र समेत अर्थमन्त्रीले खर्च र आम्दानीबीच सन्तुलन मिलाउन सधैं प्रतिपक्षको भुमिका खेलेका हुन्छन्। बुढ्यौली, कमजोर स्वास्थ्य र कामको चाप भरतमोहनका लागि सजिलो हुने छैन।

२०५१ को एमाले नौ महिने शासनकालमा भरतमोहन कम्युनिष्ट पार्टीबाट पहिलोपटक अर्थमन्त्री भएका थिए। आफ्नो गाउँ आफै बनाउँ जस्तो चर्चित कार्यक्रम उनले नै सुरुवात गरेका हुन्। यो कार्यक्रमले गाउँमा सिधै पैसा जान थाल्यो। आफ्नो गाउँघर आफंैले विकास गर्नुपर्छ भन्ने जागरण यो कार्यक्रमले ल्याएको थियो। बृद्ध भत्ता दिने लोककल्याणकारी कार्यक्रमको सुरुआत पनि भरतमोहनले नै पहिलो पटक अर्थमन्त्री हँुदा ल्याएका थिए।

पहिलो कार्यकालमा लोककल्याणकारी यस्ता कार्यक्रम लोकप्रिय भए पनि निजी क्षेत्रमा उत्साह दिने काम भने भरतमोहनले गर्न सकेनन्। उदारीकरणले अर्थतन्त्रमा थपेको उत्साहमा २०५१ पछि ब्रेक लाग्न पुग्यो। वामपन्थी सोच र आर्थिक उदारीकरणलाई रोक्न नसक्ने विरोधाभास पुर्ण अवस्थाले गर्दा पहिलो कार्यकालमा भरतमोहन अल्मलिएका थिए। यसको एउटा उदाहरण निजीकरण कार्यक्रम रोकिनु हो। २०४८ पछि सरकारी संस्थान निजीकरणलाई सरकारले द्रुतगतिमा अघि बढाएको थियो। तर, एमालेको नौ महिने कार्यकालमा ठप्प भयो। किन निजीकरण ठप्प भयो? एमाले उदार अर्थतन्त्रको विरोधी हो? भन्ने प्रश्नमा पछिल्लो पटक अर्थमन्त्री हुँदा भरतमोहनले भनेका थिए, एमाले निजीकरण विरोधी होइन, नौ महिने कार्यकालमा यसबारेमा अध्ययन हँुदैं थियो, नयाँ ढँगबाट जाने सोच बनाएका थियौ तर, समय भएन सत्ताबाट हट्यौं।

सरकारी संस्थान बिक्री गरेर देशको अर्थतन्त्रमा ठुलो परिवर्तन आउँछ, निजीकरण नै सम्पुर्ण समस्याको औषधी होइन। तर, यसले सरकार निजी क्षेत्रलाई विश्वास गर्छ भन्ने सन्देश दिन्छ र निजी लगानीलाई उर्जा थप्ने काम गर्छ। दोस्रो पटक भरतमोहन अर्थमन्त्री हुँदा एमालेको अर्थनीति उदारीकरण पक्षधर नेपाली कांग्रेससँग निकट हुँदै गइरहेको थियो। तेस्रो पटक अर्थमन्त्री हुँदा त भरतमोहन निजीकरण नीतिका समर्थन भइसकेका थिए। यो परिवर्तन अझ अघि लैजान सके युवा वर्ग र निजीक्षेत्रमा उत्साह थप्न सक्छ।

खनाल सरकार माओवादी पार्टी समर्थनमा मात्र टिक्ने भएकाले अर्थमन्त्रीले एक्लै निर्णय गर्न कठिन हुने छ। अर्थनीतिमा माओवादी एमाले भन्दा बढी अनुदार छ। श्रम ऐनमा सुधार, निजीकरण, वित्तीय क्षेत्र सुधार, अनुदान कटौती जस्ता सवालमा माओवादी अवरोध बन्न सक्छ। अर्थतन्त्रलाई नयाँ गति दिनुपर्छ भन्ने तथ्य भरतमोहनले सत्तासाझेदार घटकलाई बुझाएर काम गर्न सकेनन् भने अर्थतन्त्र यथास्थितिमै रहने छ।

भरतमोहन अरुको कुरा सुन्न सक्छन तर, उनमा स्वतन्त्र निर्णय लिन सक्ने क्षमताको अभाव छ। पार्टी र निकट सहयोगीमा उनी बढी निर्भर हुन्छन्। पाँच वर्ष अघि राष्ट्र बैंक गभर्नर नियुक्ती विवाद भरतमोहन अर्थमन्त्री हुँदा आएको थियो। यसबेला उनले स्पष्ट अडान लिन सकेनन्। जसले गर्दा विवादले उग्र रुप लियो। गोविन्दबहादुर थापा, केशव आचार्य, गभर्नर युवराज खतिवडा, भीम न्यौपाने उद्यमी विनोद चौधरी लगायतका अर्थशास्त्री भरतमोहनका निकट सहयोगी हुन्। २०५१ देखिनै यी अर्थशास्त्रीहरुले भरतमोहन निकट बसेर काम गर्दै आएका थिए। अहिले पनि यीनै व्यक्तिहरु हावी हुने देखिन्छ। यस अघिका उनका अर्का निकट सहयोगी डिल्लीराज खनाल अहिले एमालेमा छैनन्। पुरानो सम्बन्धका कारण माओवादी पार्टीमा प्रवेश गरेका खनाललाई उपयोग गरे प्रमुख सत्ता साझेदार घटकको विश्वास जित्न अर्थमन्त्रीलाई काम गर्न सजिलो हुनेछ। अर्थ राज्यमन्त्रीको रुपमा पुर्व एमाले सांसद खनाललाई आफ्नो समुहमा प्रवेश गराउन सके भरतमोहनलाई काम गर्न सजिलो हुनेछ। एमाले भित्रका अर्थशास्त्रीहरु यो नमान्न सक्छन्। तर, खनाललाई निकट राखेर काम गर्दा अर्थमन्त्रीलाई फाइदा बढी हुन्छ। यो भए दैनिक प्रशासन, सत्ता साझेदारसँग तालमेलमा सजिलो हुन्छ र राजनीतिक परामर्शमा संलग्न हुने बढी समय पनि अर्थमन्त्रीले पाउने छन्। माओवादी पार्टीबाट रचनात्मक सहयोग भन्दा दवाव नै झल्नु पर्ने अवस्था छ। माओवादी पार्टी भित्र अर्थतन्त्र संचालनमा बाबुराम भट्राईसँग व्यवहारीक अनुभव छ। तर, भरतमोहनले भट्राई पक्षका व्यवहारीक ज्ञानबाट सहयोग पाउने छैनन्। माओवादी भित्र बामपन्थी सोच बढी हावी भएका अनुदार समुहसँग अर्थमन्त्रीले झेल्नु पर्नेछ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको बढ्दो मूल्य अर्थमन्त्रीको पहिलो चुनौती हुनेछ। प्रति व्यारल झण्डै १०० अमेरिकी डलर पुगेको तेलको भाउ तल झरेन भने मूल्य वढाउनु पर्नेछ। यो अलोकप्रिय निर्णय गर्न सरकारलाई कठिन हुन्छ। मूल्य नबढाउने हो भने निगमलाई अनुदान दिनु पर्छ। विकास खर्च कटाएर अनुदान दिनु अर्थमन्त्रीलाई सहज हुनेछैन।

दोस्रो सरकारले नयाँ बजेट ल्याउने सार्वजनिक गरेको छ। आफ्नै पार्टीले ल्याएको बजेटलाई परिवर्तन गर्नुको उद्देश्य अर्थमन्त्रीले दिन सक्नुपर्छ। हालको बजेटभन्दा नयाँ बजेट कति फरक हुन्छ, यसलेमात्र परिवर्तनको सार्थकता पुष्टि गर्छ। अंक र केही योजना तल माथि गर्दैमा बजेट नयाँ हँुदैंन। वित्तीय क्षेत्र सुधार टुँगोमा पुगेको छैन। नेपाली कांग्रेस सरकारले २०५६ मा ल्याएको वित्तीय क्षेत्र सुधारको विपक्षमा भरतमोहन थिए तर, यसपछि उनी अर्थमन्त्री हुँदा निरन्तरता दिए। सुधार अझै टुँगोमा पुगेको छैन। यो विस्तारै निस्तेज हुँदै गएको छ। समस्या हुँदैं गएको यो सुधार कार्यक्रमलाई टुंगो लगाए देशका लागि उपलव्धी हुनेछ।

भरतमोहनका लागि अर्थतन्त्रका यी काम गर्न उमेर बाधक हुँदैंन, युवा सोच भए पुग्छ भन्ने प्रमाणित गरेर देखाउने अन्तिम मौका हो। अनुभवको उपयोग र नयाँ दृष्टिकोण लिनसके भनेमात्र उनी सफल अर्थमन्त्री हुने छन्। उनको नियुक्तीलाई १०० मा ४० नम्बर दिनु गलत देखिने छ। युवा वर्ग र निजीक्षेत्रले अर्थमन्त्रीबाट यही चाहेको छ।
Source: विजय घिमिरे from http://nagariknews.cloudaccess.net/economy/industries/23143-2011-02-07-06-29-45.html

Keine Kommentare:

Kommentar veröffentlichen