Dienstag, 22. Februar 2011

विकास बैंकले घटाए नेप्से

काठमाडौं, फागुन १० (नागरिक)- विकास बैंकसहित वाणिज्य बैंक र नेपाल टेलिकम सूचीकृत अन्य समूहको परिसूचक घटेकाले समग्र बजार परिसूचक नेप्से सोमबार ओरालो लागेको छ।

स्टक एक्सचेन्जका अनुसार नेप्से सोमबार ०.८३ अंकले घटेर ४०४.३२ मा आइपुगेको छ। नेप्से आइतबार पनि घटेको थियो। जलविद्युत, बिमा र वित्त समूहको परिसूचक बढेका छन्। होटल, उत्पादनमुलक र व्यापार समूहबाट कुनैपनि कम्पनीको कारोबार भएको छैन्।

यस दिन ८० कम्पनीको कारोबार भएकामध्ये ३३ कम्पनीको सेयर मूल्य बढेको, १० को स्थिर रहेको र ३७ को घटेको स्टक एक्सचेन्जले जनाएको छ। स्टक एक्सचेन्जमा सूचीकृतसँगै कारोबार हुने कम्पनी बढेका छन्। सूचीकरणको अनुपातमा कारोबार रकम भने बढ्न सकेको छैन्।

सोमबारको कारोबार रकम पछिल्लो समयको औसतभन्दा कम हो। यस दिन एक हजार पाँच सय ६५ कारोबारमा एक करोड ७३ लाख १३ हजार रुपैयाँ बराबरका ७८ हजार एक कित्ता सेयर किनबेच भएका छन्। आइतबार एक हजार आठ सय ४८ कारोबारमा दुई करोड ३५ लाख ९७ हजार रुपैयाँ बराबरका एक लाख २४ हजार ५ सय ४९ कित्ता सेयर किनबेच भएका थिए।

आर्थिक वर्ष ०६५/६६ मा दैनिक ९ करोड रुपैयाँ बराबरको सेयर किनबेच हुने गरेकोमा गत वर्ष ४ करोडमा झरेको थियो। चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा यस्तो औसत ३ करोड रुपैयाँ कायम भएको छ।
यस दिन कारोबार संख्या (४२६) का आधारमा गौरीशंकर विकास बैंक अगाडि छ। किनबेच भएका सेयर संख्या (१० हजार ) का आधारमा एनसिएम म्युचुअल फन्ड र कारोबार रकम (२८ लाख ९७ हजार रुपैयाँ) का आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले अग्रता लिएको छ।

काठमाडौं फाइनान्सको संस्थापक सेयर, विश्व विकास बैंक र दियालो विकास बैंकको सेयर मूल्य उच्च दरमा घटेको छ। काबेली विकास बैंक, जनरल फाइनान्स र एनबी बैंकको सेयर मूल्य उच्च दरमा बढेको छ।
यस दिनको कारोबारबाट बजार पुँजीकरण ३ खर्ब ५४ अर्ब रुपैयाँ कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा एक अर्ब कम हो। बजार उचाइमा पुगेका बेला यो ६ खर्ब १२ अर्ब रुपैयाँ थियो।
http://news.nagariknews.com/economy/industries/23582-2011-02-22-05-57-56.html

Keine Kommentare:

Kommentar veröffentlichen