Freitag, 25. Februar 2011

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणासँग गरेको कुराकानी संक्षेपमा

काठमाडौ, माघ ११ - एटिएम, एबिबिएस, इन्टरनेट हुँदै मोबाइलसम्म आइपुगेको बैंकिङ कारोबारले ग्राहकको सुविधा थप्दै लगेको छ । सूचना प्रविधिमा आएको परिवर्तनले बैंकिङ प्रणालीलाई मात्र सहज नबनाएर बैंकरलाई पनि 'मोबाइल' बनाएको छ । अघिल्लो साता सञ्चालनको १९ औं वर्षमा प्रवेश गरेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा काम गर्नका लागि अफिस नै जानुपर्ने बाध्यता परिवर्तन हुँदै आएको बताउँछन् । 'अफिसका महत्त्वपूर्ण सूचना यसमै आउँछ,’ थ्रिजी सुविधा भएको ब्लाकबेरी मोबाइल सेट देखाउँदै उनले भने । स्थापना मितिका आधारमा चौथौ निजी बैंक हिमालयन अहिले अन्य २९ वटा वाणिज्य बैंकसँगको प्रतिस्पर्धामा छ । बैंकको योजना, प्रगति र समग्र बैंकिङ क्षेत्रबारे राणासँग रोशन अधिकारीले गरेको कुराकानी संक्षेपमा-



बैंकको १८ वर्षे यात्रा कस्तो छ ?

हामीले स्थापनाको वर्षपछि सेयरधनीलाई वाषिर्क प्रतिफल दिँदै आएका छौं । वाषिर्क ३५ देखि ४० प्रतिशतको हाराहारीमा सेयरधनीलाई प्रतिफल दिइरहेका छौं । गत वर्ष १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस सेयर दिएका थियौं । यसबाहेक बैंकको पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गरेका छैनौं । वाषिर्क नाफाबाट पुँजी वृद्धि गरिरहेका छौं ।

सेवा सुधारमा कस्ता योजना छन् ?

क्रेडिट कार्ड, एसएमएस बैंकिङलगायतमा सेवा हामीले नै सुरु गरेका हौं । सूचना प्रविधिमा लगानी प्राथमिकतामा पर्छ । पछिल्लोपटक हामीले डेबिट/क्रेडिट कार्डको सुरक्षालाई विशेष प्रविधि भित्र्याएका छौं । इएमभी (युरोपे, मास्टर कार्ड एन्ड भिजा) को प्रयोग गर्दै छौं । यसअन्तर्गत सबै कार्डमा विशेष चिप जडान गरिनेछ र एक विशेष उपकरण ग्राहकलाई दिइनेछ ।

उक्त उपकरणले हरेकपटक फरक नम्बर निकाल्नेछ, जसलाई एटिएम मेसिनमा पिन कोडसँगै प्रयोग गर्नुपर्छ । यसले एटिएम कार्डको सुरक्षा अन्तर्राष्ट्रियस्तरको बनाउनेछ ।

बैंक तथा वित्तीय संस्थाको बढ्दो संख्यासँगै मानव संसाधनमा कमी भएको छ । कस्तो अवस्था छ ?
हामीले लगानी गर्ने दोस्रो प्रमुख क्षेत्र मानव संसाधन पनि हो । कर्मचारीलाई तालिम दिन वाषिर्क ६० देखि ८० लाख रुपैयाँ खर्च हुन्छ । त्यसैले हाम्रा कर्मचारी अन्य बैंकले तान्ने काम भएको छ । गत वर्ष मात्र ५० कर्मचारी अन्य बैंकमा गए । हाम्रो बैंकका कर्मचारीको दक्षताले नै यसलाई सहयोग गरेको हुन सक्छ । ग्राहक बैंकमा छिरेपछि सबै विभाग र कर्मचारी देख्न सक्छन् । यसले ग्राहक संख्या बढ्नमा मद्दत गरेको छ । हाल हामीसँग २ लाख सक्रिय ग्राहक छन् ।



बैंकका प्रमुख लगानी क्षेत्र के छन् ?

हामी कर्पोरेट क्षेत्रमा केन्दि्रत लगानी गर्दै आएका हौं । अन्तर्राष्ट्रिय व्यापारको एलसी -प्रतीतपत्र) मा मुख्य लगानी गरेका छौं । यसबाहेक ठूला कर्पोरेट संस्थामा पनि लगानी छ । पछिल्लो तीन वर्षमा हामीले साना तथा मझौला उद्योगतर्फ ध्यान दिन थालेका छौं । १५ प्रतिशत रहेको यस्तो लगानीलाई अगामी वर्षसम्म २५ प्रतिशत पुर्‍याउने योजना छ ।

अधिकांश पुराना र सबै नयाँले साना तथा मझौला उद्योगमा लगानी गर्छौं भनेका छन् । यो क्षेत्रमा त्यस्तो के छ ?

धेरै बैंकले साना तथा मझौला उद्योगमा भने पनि तथ्याकं हेर्नुभयो भने त्यो लगानी घरजग्गा क्षेत्रमा गएको देखिन्छ । साना उद्योगमा लगानी गर्न सोचेजस्तो सजिलो छैन । यस्ता संस्थाको तथ्यांक र हिसाबकिताब राख्ने व्यवस्था भरपर्दो हुँदैन । हामी पहिले तालिम दिएर हिसाबकिताब र बासलात राख्न सिकाउँदै आएका छौं । यो लगानीबाट छिट्टै प्रतिफल आउँदैन । त्यसैले २/३ बैंकभन्दा बढी यो क्षेत्रमा गएका छैनन् ।

बैंकहरू बढी नाफामुखी भएको गुनासो छ । यसका साथै सञ्चालक समितिले प्रमुख कार्यकारीलाई नाफा वृद्धि गर्न दबाब दिन्छन् भन्ने चर्चा छ नि ?

बैंकहरू खुलेको नाफा कमाउनका लागि हो । त्यसैले नाफा कमाउनु यसको मुख्य उद्देश्य हो । नाफा एक/दुई जनामा बाँडिने होइन । पारदर्शी हिसाबमा सबै नाफा यसका सेयरधनीमा वितरण हुन्छ । यसबाहेक बैंकले प्रगतिका लागि वाषिर्क लक्ष्य तोकेको हुन्छ । त्यो पूरा गर्नु सबै प्रमुख कार्यकारीको कर्तव्य हो । तर नाफाका लागि ठूलो जोखिम बेहोर्नु भने हुँदैन ।

यस वर्ष बैंकहरूको नाफा कम हुने देखिन्छ । के भन्नुहुन्छ ?

पछिल्लोपटक देखिएको तरलताको अवस्था, घरजग्गा क्षेत्रको सुस्ततालगायतले बैंकहरूको नाफा कम हुने अनुमान गरिएको हो । यस्तो हुन सक्छ । सजिलो अवस्थामा सबै बैंकका प्रमुख कार्यकारीले नाफा कमाएर देखाएका थिए । तर असजिलो अवस्थामा पनि प्रतिफल दिन सक्ने बैंक कुन हो अब त्यो हेर्नुपर्छ ।





प्रकाशित मिति: २०६७ माघ ११ ०९:३९
http://www.ekantipur.com/np/2067/10/11/full-story/324068.html

Keine Kommentare:

Kommentar veröffentlichen