काठमाडौं, फागुन ४ - कर्जा दुरुपयोग भएको पुष्टि भएपछि राष्ट्र बैंकले गोर्खा डेभलपमेन्ट बैंकका पूर्वकार्यकारी अध्यक्ष डिबी बम्जन र कर्जा दिने कर्मचारीलाई कारबाही गर्ने भएको छ। केन्द्रीय बैंकले दुरुपयोग कर्जा बराबर रकमको सम्भावित नोक्सानी व्यवस्था गर्नसमेत बैंकलाई निर्देशन दिन लागेको छ।
'छानविनमा कर्जा दुरुपयोग भएको पाइयो,' राष्ट्र बैंक उच्च स्रोतले भन्यो, 'अब एक/दुई दिनमा कारबाही गर्न बैंकको बोर्डलाई निर्देशन दिन्छौं।' गोर्खा डेभलपमेन्ट बैंकले गत असारमा अब्दुल कवाडी टे्रडिङको नाममा १२ करोड ४१ लाख रुपैयाँ कर्जा दिएको थियो।
वसन्तबहादुर थापाको नाममा रहेको अब्दुल कवाडीलाई दिएको कर्जा बैंकका केही कर्मचारी र ऋणीको ऋण तिर्न प्रयोग भएको अनुसन्धानबाट पुष्टि भएपछि केन्द्रीय बैंकले बम्जनलाई कारबाही गर्न लागेको हो।
'कर्जा डुब्ने निश्चित छ,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'त्यही भएर सम्भावित नोक्सानी व्यवस्था गर्नसमेत निर्देशन दिन लागेका हौं।' कर्जा दुरुपयोग भएको सार्वजनिक भएपछि तत्कालीन कार्यकारी अध्यक्ष बम्जनले पदबाट मौखिक राजीनामा गरिसकेका छन्। उनको राजीनामालाई स्वीकृत गर्दै सञ्चालक समितिले निर्मल गुरुङलाई अध्यक्ष बनाएको छ।
'बम्जन व्यवस्थापन समूह र सञ्चालक समिति दुवैको प्रमुख भएका हिसाबले उनलाई कारबाही हुन्छ,' राष्ट्र बैंक स्रोतले भन्यो, 'यति ठूलो कर्जा पास गर्ने कर्मचारीका साथै सञ्चालक समितिअन्तर्गत रहने कर्जा उपसमितिका सदस्यलाई समेत कारबाही हुन्छ।'
राष्ट्र बैंक स्रोतका अनुसार अब्दुल कवाडीको नाममा गोर्खा डेभलपमेन्ट बैंकबाट कर्जा लिनु अघि यो सम्पत्ति श्री इन्भेस्टमेन्ट फाइनान्समा धितोमा थियो। श्री इन्भेस्टमेन्टबाट एकै दिनमा धितो फुकुवा गरेर गोर्खा डेभलपमेन्ट बैंकबाट कर्जा लिइएको अनुसन्धानबाट देखिएको छ। कम्पनीको श्रीइन्भेस्टमेन्टमा साढे ३ करोड कर्जा थियो।
'गोर्खा डेभलपमेन्ट बैंकबाट लिइएको करिव साढे १२ करोडमध्ये श्री इन्भेस्टमेन्टको साढे तीन करोड चुक्ता गरेर बाँकी पैसा ऋणीलाई वियरर र नगद भुक्तानी भएको छ,' स्रोतले भन्यो, 'ऋणीले लगेको बाँकी रकमबाट गोर्खा डेभलपमेन्ट बैंकको अन्य कर्जा भुक्तानीमा पैसा गएको पाइयो।' स्रोतका अनुसार अब्दुल कवाडीका नाममा १२ करोड ४१ लाख रुपैयाँ वर्किङ क्यापिटल कर्जा लगिएकोमा साइट अनुसन्धानका लागि जाँदा एक करोड पनि सामान भेटिएन।
अब्दुल कवाडी थापाको नाममा आउनु अघि सुरज दाहालको थियो। राष्ट्र बैंक स्रोतका अनुसार रियलस्टेटका व्यवसायी दाहालको ठूलो कर्जा गोर्खा डेभलपमेन्ट बैंकमा थियो। 'कवाडीका नाममा लिइएको कर्जा दाहालको कर्जा तिर्नसमेत प्रयोग भएको छ,' स्रोतले भन्यो।
अब्दुल कवाडीका नाममा कर्जा लिइए पनि सम्पूर्ण धितो तेस्रो व्यक्ति अर्थात पाचलाल महर्जनले हालेको अनुसन्धानबाट देखिएको छ। 'व्यक्तिगत रुपमा कर्जा लिँदा प्रक्रिया लम्बिने देखिएपछि पहिले कर्जा प्रवाह भइसकेको फर्मका नाममा अर्को व्यक्तिले थप धितो राखेर कर्जा लिएको हो,' स्रोतले भन्यो। बैंकमा रहेको पुरानो कर्जालाई मिलाउन बैंक कर्मचारी र ऋणी मिलेर नयाँ कर्जा लिइएको हो।
चालु आबमा बैंक घाटामा जान सक्ने
राष्ट्र बैंकको निर्देशनअनुसार १२ करोड ४१ लाख रुपैयाँ सम्भावित नोक्सानी व्यवस्थामा छुट्याँउदा चालु आबमा बैंक घाटामा जान सक्ने देखिएको छ। बैंकले गत आर्थिक वर्ष ७ करोड २७ लाख रुपैयाँ नाफा गरेको थियो। गत वर्षको नाफालाई यो वर्ष झन्डै दोब्बर नपारे बैंकको पुँजी घट्ने छ। यसको ६६ करोड चुक्ता पुँजी छ।
Source: सुदर्शन सापकोटा, http://news.nagariknews.com/economy/industries/23398-2011-02-16-04-39-13.html
Mittwoch, 16. Februar 2011
Abonnieren
Kommentare zum Post (Atom)

Keine Kommentare:
Kommentar veröffentlichen