Mittwoch, 28. Juli 2010

हाउजिङ मौद्रिक नीतिको प्राथमिकतामा

काठमाडौ, श्रावण १२ - लगानीका क्षेत्र सीमित भइरहेका बेला हाउजिङलाई पनि उत्पादनशील मान्दै त्यसमा कर्जा प्रवाह सहज बनाउने तयारी केन्द्रीय बैंकले गरेको छ । बैंक तथा वित्तीय संस्थाले अब कुल लगानीको २५ प्रतिशतसम्म हाउजिङमा दिन पाउने व्यवस्था नयाँ मौद्रिक नीतिले गर्न लागेको हो ।

यो क्षेत्रमा उच्च लगानी भएपछि त्यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले निर्देशन जारी गर्दै गत पुसमा यी दुवै क्षेत्रमा कुल लगनीको ४० प्रतिशत नाघ्न नहुने निर्देशन दिएको थियो । आउँदो असारसम्म यसलाई ३० प्रतिशतमा झार्नुपर्ने व्यवस्था गरिएको थियो । कर्जा प्रवाह रोकिएर हाउजिङ निर्माण पनि प्रभावित भएपछि नयाँ व्यवस्था गरिएको बंैक उच्च स्रोतले जानकारी दियो । त्यसका लागि हाउजिङ व्यसायीले लबिङ गर्दै आएका थिए । नीतिले यसलाई ४० प्रतिशतकै सीमामा छाडिदिएको छ ।

हाउजिङ निर्माणका लागि कर्जा अभाव झेलिरहेका व्यवसायी र लगानीका अवसर नपाएका बैंक दुवैलाई नयाँ व्यवस्थाले सजिलो हुनेछ ।

बुधबार सार्वजनिक हुने मौदि्रक नीतिले जलविद्युत्, पर्यटन र निर्यात प्रतिस्थापन गर्नेजस्ता उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह प्रोत्साहित गर्न थप सहुलियत दिएको बैंक उच्च स्रोतले जानकरी दियो । 'उत्पादनशील क्षेत्रमा कर्जा विस्तार र दुर्गम क्षेत्रमा बैंकिङ सञ्जाल बढाउन प्रोत्साहित गर्ने मूल उद्देश्य नीतिको छ,' स्रोतले भन्यो ।

यसैगरी अनिवार्य नगद मौज्दात अनुपात (सिआरआर) लाई वैधानिक तरलता अनुपात (एसएलआर) मै गणना गर्ने नयाँ व्यवस्था पनि नीतिले गरेको छ । वाणिज्य बैंकहरूले असारदेखि ८ प्रतिशत एसएलआर कायम गर्नुपर्छ । त्यसबाहेक सिआरआर ५ दशमलव ५ प्रतिशतको व्यवस्था कायमै छ । अब यी दुवैमा नगद कोष -क्यास एटभल्ट) समेत जोडर एकमुष्ठ एसएलआर गणना गरिने उनले बताए । राम्रा बैंककले भल्टमा न्यूनतम २.५ र कमजोर बैंकले ४ प्रतिशतसम्म राख्ने गरेका छन् । सबै जोड्दा १५ प्रतिशतको हाराहारीमा नगद राख्नुपर्ने व्यवस्था हुन सक्छ,' स्रोतले भन्यो । यसपछि नगद कोष धेरै राख्ने कमजोर बैंकले थप लगानीको अवसर पाउनेछन् । यो व्यवस्थाले नगद मौज्दातको परिमाण न्यूनतम १ प्रतिशत विन्दुले घट्ने अनुमान गरिएको छ ।

यसैगरी नयाँ मौदि्रक नीतिले बैंक दरलाई ६ दशमलव ५ बाट बढाएर ७ प्रतिशत पुर्‍याएको छ । यसले बैंक तथा वित्तीय संस्थाको ब्याजदर अझै माथि जान दबाब पर्ने छ । यो केन्द्रीय बैंकले वित्तीय संस्थाहरूलाई ऋण प्रदान गर्दा लिने न्यूनतम ब्याज हो ।

यसैगरी निर्यात प्रतिस्थापन गर्ने खालका उद्योगलाई विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्ने नयाँ व्यवस्था पनि नीतिले गर्ने बैंक उच्च स्रोतले जनायो । बैंक तथा वित्तीय संस्थामा समस्या आएमा त्यसले समग्र प्रणालीलाई प्रभावित नपारोस् भनेर सजगताका लागि बेग्लै योजना घोषणा गर्ने तयारी पनि नीतिको छ । 'वित्तीय क्षेत्रमा भुइँचालो नै आयो भने पनि कसरी उद्धार गर्ने भन्ने योजना यसले ल्याउनेछ,' उनले भने ।

बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन प्रोत्साहिन गर्नु नीतिको अर्को प्रमुख उद्देश्य हो । वित्तीय रूपमा कमजोर र बलिया बलिया वा कमजोर कमजोर संस्था गाभिन सक्ने अनुमान गर्दै त्यसपछि पुँजी पर्याप्तता, नेटवर्थ, खराब कर्जाजस्ता विषयमा केही लचकता अपनाइने उनले बताए । 'कमजोर संस्था गाभिए सुधारका लगि तीनलाई केही अवधि दिने प्रस्ताव गरिएको छ,' उनले भने । यसरी गाभिने संस्थालाई आयकरमा छुट दिनेबारे अर्थ मन्त्रालयमा समेत छलफल भइरहेको छ । यो व्यवस्था भने बजेटले गर्नुपर्छ ।

यसबाहेक केन्द्रीय बैंकले उपभोक्तको हितलाई पनि पहिलोपल्ट सम्बोधन गर्ने दाबी स्रोतको छ । 'सेवाका नाममा धेरै रकम लिने, अप्रत्याशित ब्याज बढ्ने जस्ता विषयलाई नीतिले सम्बोधन गर्नेछ,' स्रोतले भन्यो, 'वाणिज्य बैंकका प्रमुख कार्यकारीहरूको तलब सुविधाबारे ठ्याक्कै नबोले पनि यसबारे निर्देशिका ल्याउने तयारीमा छौं ।' बैंकहरूलाई ग्रामीण क्षेत्रमा आकषिर्त गर्न केही सहुलियत दिने घोषणा नीतिले गर्ने पनि उनले बताए ।

समग्रमा मौदि्रक नीति केही कसिलो भए पनि यसले उत्पादनशील क्षेत्रमा कर्जा विस्तार र दुर्गम क्षेत्रमा बैंकिङ क्षेत्र पहुँच बढाउन प्रोत्साहित गर्ने मूल उद्देश्य लिएको बैंक स्रोतले जनायो ।

राजनीतिक सहमति हुन नसक्दा सरकारले पूर्ण बजेट ल्याउन नसकेको सरकारले काम चलाउ बजेट सार्वजनिक गरिसकेको छ । त्यसले नीतिगत व्यवस्था गर्ने नसकेकाले मौदि्रक नीतिबाटै भए पनि अर्थतन्त्रलाई गति दिने केही नयाँ मौदि्रक योजना आउनेछन् । पूर्ण बजेट आएपछि त्यसैअनुसारको मौदि्रक नीति आउने पनि केन्द्रीय बैंक स्रोतले बतायो
सञ्जय न्यौपाने, http://www.ekantipur.com/np/2067/4/12/full-news/315323/

Samstag, 24. Juli 2010

शोधनान्तर घाटा ५ अर्ब तल झर्ने

काठमाडौ, श्रावण ८ - राजनीतिसँगै ओरालो लागिरहेको अर्थतन्त्रमा भने आर्थिक वर्षको अन्त्यमा केही सुधारको संकेत देखिएको छ । राष्ट्र बैंकको प्रारम्भिक अनुमानअनुसार शोधनान्तर घाटा ५ अर्ब रुपैयाँ भन्दा तल झरेको छ ।

फागुनमा शोधनान्तर घाटा २३ अर्ब ५३ करोड रुपैयाँ थियो । केन्द्रीय बैंकको यस अनुमानका आधारमा पछिल्लो ४ महिनामा यस्तो घाटा १७ अर्ब रुपैयाँले घटेको छ ।

देश भित्रिनेभन्दा बाहिरिने रकम शोधनान्तर घाटामा आएको उल्लेख्य कमीको संकेतले नीति निर्माताहरूलाई केही राहत दिएको छ । अत्यधिक मात्रामा भइरहेको सुनचाँदी आयातमा लगाइएको परिमाणात्मक बन्देज र विदेशी मुद्रा सटही सुविधामा गरिएको कडाइपछि शोधनान्तर स्थिति सुधार

हुन थालेको राष्ट्र बैंक उच्च स्रोतले बतायो ।

'सुनचाँदी आयात नियन्त्रण र चीनबाट ड्राफ्ट/टिटीमार्फत हुने आयात नियन्त्रण गरेपछिको प्रभाव हो,' उनले भने, 'विदेशी मुद्रा सञ्चितिमा भएको वृद्धिले यही संकेत गर्छ ।'

फागुनयता वैदेशिक मुद्राको सञ्चिति ३१ अर्ब रुपैयाँले बढेर २ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । फागुनमा यो २ खर्ब ३५ अर्ब रुपैयाँसम्म झरेको थियो । जुन सबैभन्दा बढी शोधनान्तर घाटा भएको महिना हो । गत वर्ष असार मसान्तमा यस्तो सञ्चिति २ खर्ब ७९ अर्ब रुपैयाँ थियो । रेमिट्यान्स, पर्यटन, निर्यात आदि माध्यमबाट नेपालीबाहेकका अन्य मुद्रामा देशले आर्जन गरेको रकम विदेशी मुद्राको सञ्चिति हो ।

नेपालले २६ वर्षपछि शोधनान्तर घाटा बेहोर्नुपरेको छ । आयातमा भएको उल्लेख्य वृद्धिले बढाएको ऐतिहासिक व्यापार घाटाका कारण देशले शोधनान्तर स्थितिमा चाप बेहोर्नुपरेको थियो । वैशाखमा शोधनान्तर घाटा १७ अर्ब ३६ करोड रुपैयाँ थियो ।

शोधनान्तर घाटा बढेपछि सञ्चय गरेर राखेको यो रकम आवश्यक पर्ने सामान किन्न खर्च गरिन्छ । यो सञ्चय रित्तिँदै जानु देश टाट पल्टिन सक्ने संकेत भएकाले शोधनान्तर घाटा देशका लागि चुनौतीपूर्ण अवस्था हो । कात्तिकमा यो घाटा देखिएपछि राष्ट्र बैंकले आयात निरुत्साहित गर्न विभिन्न कार्यक्रम ल्याएको थियो ।

यसैगरी बिमाका लागि भारत गइरहेको रकमलाई पनि केन्द्रीय बैंकले रोकेको थियो । पछिल्लो समयमा तीर्थयात्रा, स्वास्थ्य उपचार लगायत अन्य प्रयोजनका लागि भारत जानेहरूलाई भारु सटहीमा २५ हजार रुपैयाँको परिमाण तोकिएको थियो । परिमाणभन्दा बढी आवश्यक परे खर्च गरेको भर्पाई देखाउनुपर्ने समेतको व्यवस्था गरिएको थियो । यसबाहेक एटिएम कार्डमार्फत बाहिरिने रकमलाई पनि विभिन्न उपाय अवलम्बन गरी रोक्ने प्रयास केन्द्रीय बैंकले थालेको छ ।

तरलता अभावका कारण यहाँका वित्तीय संस्थाको ब्याजदर बढेकाले बढी प्रतिफलका कारण भारततर्फ जाने रकम रोकिएको दाबी पनि केन्द्रीय बैंकको छ ।

शोधनान्तर अवस्थामा भएको सुधारले तत्काल भारतीय रुपैयाँसँगको स्थिर विनिमय दर परिवर्तन गर्नुपर्ने अप्रत्यक्ष दबाब पनि कम हुनेछ । केन्द्रीय बैंकले तत्काल परिवर्तन नगर्ने बताए पनि तरलता अभाव र लगातार ६ महिनादेखि शोधनान्तर घाटा भएपछि स्थिर विनिमय दर परिवर्तन गरिनुपर्ने दबाब परिरहेको थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि नेपाली मुद्रा १५ प्रतिशत महँगो भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । आगामी आर्थिक वर्षमा पनि उच्च शोधनान्तर घाटा कायमै रहे विनिमय दर परिवर्तन गर्नुपर्ने

हुन्छ । यसले बजार भाउ बढ्न गई सर्वसाधारणको जीविकोपार्जन कष्टकर बनाउँछ । पछिल्लो सुधार हेर्दा आगामी आर्थिक वर्षको अन्त्यमा शोधनान्तर स्थिति ९ अर्ब रुपैयाँले बचत हुने प्रारम्भिक अनुमान सरकारको छ
गोकर्ण अवस्थी, http://www.ekantipur.com/np/2067/4/8/full-news/315137/

Mittwoch, 7. Juli 2010

बैंकहरूको नाफा १५ अर्ब नाघ्ने

काठमाडौ, अषाढ २२ - पछिल्लो ६ महिना चरम तरलता अभावको समाना गरे पनि चालू आर्थिक वर्षमा वाणिज्य बैंकहरूको नाफा नघट्ने देखिएको छ । असार दोस्रो सातासम्म नेपाल राष्ट्र बैंकले संकलन गरेको तथ्यांकको आधारमा वाणिज्य बैंकहरूको कुल नाफा १५ अर्ब नाघ्ने देखिएको छ ।

वर्षको पहिलो ६ महिनामा भएको उल्लेख्य कर्जा प्रवाहका कारण यो वर्ष नाफा नघटेको राष्ट्र बैंक स्रोतले जनाएको छ । 'यस वर्ष वाणिज्य बैंकहरूको नाफा १५ अर्ब नाघ्ने देखिन्छ,' केन्द्रीय बैंकका एक उच्च अधिकारीले भने । देशभर २७ वाणिज्य बैंक सञ्चालित छन् ।

वाणिज्य बैंकहरूले साउनदेखि पुससम्ममा करिब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यससँगै माघयता बढेको ब्याजदरले पनि बैंकहरूलाई यस वर्ष सन्तोषजनक अवस्थामै राख्नेछ । केन्द्रीय बैंकको अनुमानअनुसार नाफा हुने हो भने यो रकम गत वर्षको भन्दा १ अर्ब रुपैयाँ बढी हुनेछ । गत वर्ष वाणिज्य बैंकहरूको कुल नाफा १४ अर्ब रुपैयाँ थियो ।

यस वर्षको चैतसम्ममा बैंकहरूको नाफा १० अर्ब ३१ करोड रुपैयाँ छ । माघदेखि चैतसम्म यो नाफा करिब ३ अर्ब रुपैयाँले बढेको छ । 'चौथो त्रैमासिकमा असुली बढ्ने र ब्याजदरमा पनि वृद्धि भएकाले बैंकहरूले ५ अर्ब रुपैयाँ नाफा आर्जन गर्नसक्ने देखिन्छ,' राष्ट्र बैंक स्रोतले भन्यो । यता बैंकरहरूले भने नाफाबारे अहिल्यै अनुमान गर्न नसकिने बताएका छन् । 'पहिलो ६ महिनाभन्दा दोस्रो ६ महिनामा घट्न सक्ने अनुमान गरेका छौं,' बैंकर्स संघका अध्यक्ष ससिन जोशीले भने, 'तर अहिल्यै भन्न सकिँदैन ।'

तरलता अभाव र त्यसलगत्तै देखिएको शोधनान्तर घाटाले यस वर्ष बैंकहरूको कारोबारमा उतारचढाव देखियो । पुससम्म घरजग्गा, सेयरलगायत हायर पर्चेजमा धमाधम लगानी गरका बैंकले त्यसयता कर्जा प्रवाह करिबकरिब बन्द गरेका छन् । निक्षेप आउन कम हुन थालेपछि एकातर्फ उच्च ब्याज तिरेर एक अर्को बैंकबाट रकम जोहो गर्नुपर्‍यो भने अर्कोतर्फ सर्वसाधारणलाई आकृष्ट गर्न ब्याजदर बढाइयो ।

घरजग्गा कर्जामा सीमा तोकिएपछि सीमा नाघेका बैंकहरूले कर्जा बन्द गर्नुपर्‍यो । निक्षेप नबढेकाले अन्य बैंकले पनि निक्कै सजग भएर कर्जा दिइरहेका छन् । यसबीचमा बढेको ब्याजदरले कर्जा लिइसकेका सर्वसाधारणलाई भने बढी ब्याज तिर्नुपरेकाले समस्या बढेको छ । आगामी आर्थिक वर्ष भने बैंकहरूका लागि केही कठिन हुनेछ । निक्षेप केही बढ्न थाले पनि कर्जा प्रवाह गर्ने स्वतन्त्रता भने बैंकहरूले पाउने सम्भावना कमै छ । यस वर्षको अन्त्यसम्ममा निक्षेप भने ६ खर्ब नाघ्ने अनुमान केन्द्रीय बैंकको छ । यो अनुमानलाई आधार मान्ने हो भने पछिल्लो ६ महिनामा निक्षेप २० अर्ब रुपैयाँ मात्र बढेको छ ।

तरलता अभाव सुधार हुने संकेत नदेखिएको र अर्थतन्त्रका समस्या यथावत रहेकोले कर्जा प्रवाह पहिलेजस्तो सहज हुने छैन । हाउजिङलाई केही सहज बनाउनुपर्नेतर्फ केन्द्रीय बैंकले प्रयास थाले पनि टुंगो लागिसकेको छैन । शनिबार बजेटबारे आयोजित एक कार्यक्रममा राष्ट्र बैंक सञ्चालक समितिका सदस्यसमेत रहेका अर्थ सचिव रामेश्वर खनालले तत्काल सहज बनाउन नसकिने संकेत दिएका थिए । कर्जा प्रवाह सहज नहुने हो भने द्वन्द्वका समयमा समेत सन्तोषजनक कारोबार गरेको बैंकिङ क्षेत्र आगामी आर्थिक वर्ष प्रभावित हुनेछ ।

गोकर्ण अवस्थी, http://www.ekantipur.com/np/2067/3/22/full-news/314187/



बैंक शाखाको पनि छुट्टै लेखा प्रतिवेदन बनाउनुपर्ने

काठमाडौ, अषाढ २३ - लेखापरीक्षकको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आउँदो आर्थिक वर्षदेखि शाखाको पनि अनिवार्य रूपमा छुट्टै वित्तीय प्रतिवेदन बनाउनुपर्ने व्यवस्था गरेको छ ।

आइक्यानको हालै बसेको परिषद् बैठकले आफ्ना सदस्य लेखा व्यवसायीलाई कुनै पनि बैंक तथा वित्तीय संस्थाको लेखापरीक्षण गर्दा शाखाको पनि छुट्टै स्वतन्त्र प्रतिवेदन बनाउन निर्देशन दिने निर्णय गरेको हो । आइक्यान अध्यक्ष सुवोध कर्णका अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपको २ प्रतिशतभन्दा बढी संकलन गर्ने प्रत्येक शाखाको छुट्टै वित्तीय प्रतिवेदन बनाउनु पर्नेछ ।

यस्तो व्यवस्था भारतले धेरै अघि लागू गरिसकेको छ । त्यहाँ सम्पूर्ण कारोबारको एक प्रतिशतभन्दा बढी कारोबार गर्ने हरेक शाखाको छुट्टाछुट्टै लेखाप्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ । सार्कका पाकिस्तान, श्रीलंका र बंगलादेशमा लागू भइसकेको छ ।

'हाम्रो लेखापरीक्षण प्रणाली पनि केन्द्रीकृत छ,' कर्णले भने, 'यस्तो व्यवस्थाले शाखाको वास्ताविक आर्थिक अवस्था झल्कँदैन ।'

उनले हाललाई बैंक तथा वित्तीय क्षेत्रका लागि मात्र लागू गर्ने र केही समयपछि अन्य क्षेत्रतर्फ यो अवधारण विस्तार गरिने बताए । यसका लागि अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग समन्वयको पहल भइरहेको र ती निकाय पनि सकारात्मक देखिएको उनले जानकारी दिए ।

केन्द्रीकृत व्यवस्थाले मुख्य कार्यालयको कारोबारबारे गहन रूपमा लेखापरीक्षण हुने गरे पनि शाखालाई त्यति ध्यान दिने गरेको पाइँदैन । यसले संस्थाको वास्तविक आर्थिक अवस्था नझल्किने आइक्यानको ठहर छ ।

आफ्ना सदस्यलाई जिम्मेवार र उनीहरूले तयार पारेको लेखा प्रतिवेदनलाई अझ विश्वासिलो बनाउन यस्तो व्यवस्था गरिएको कर्णले बताए । 'छुट्टै प्रतिवेदन बनाउनुपर्ने हुँदा सूक्ष्म अध्ययन गर्नुपर्ने दबाब पनि पर्छ,' उनले

भने । यसले मुख्य कार्यालयलाई पनि शाखाको कमजोरी र मजबुत पक्षबारे जान्न सजिलो हुने

दाबी गरे ।

यता लेखा व्यवसायीले भने थोरै पारिश्रमिकमा धेरै काम गर्नुपर्ने भएकाले सबै शाखाको कारोबार परीक्षण गर्न नसकेको बताउँदै आएका छन् । 'सयभन्दा बढी शाखा भएका नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकजस्ता ठूला वित्तीय संस्थाको लेखापरीक्षण पनि एक सवा लाखमा गर्नुपर्ने बाध्यता छ,' एक लेखा व्यवसायीले भने, 'अनि कसरी सूक्ष्म अध्ययन गर्न सकिन्छ ?' उनले यस्ता ठूला व्यावसायिक संस्थाको सम्पूर्ण कारोबारबारे सूक्ष्म अध्ययनसहित लेखापरीक्षण गर्ने भौतिक पूर्वाधार र जनशक्ति मुलुकका कुनै पनि एकै लेखा व्यावसायिक र्फमसँग नभएको दाबीसमेत गरे ।

शाखाहरूको छुट्टै लेखापरीक्षण गराउनुपर्नेमा आइक्यानमाथि लेखा सम्बद्ध अन्तर्राष्ट्रिय निकायको दबाबसमेत पर्दै आएको छ । मुलुकमा अप्रत्याशित रूपमा बढ्दो बैंकिङ गतिविधिबारे अन्तर्राष्ट्रिय मुद्रा कोषले राष्ट्र बैंकसँग सोधखोज गरिरहेको छ ।

हालै न्युजिल्यान्डमा भएको लेखा सम्बद्ध अन्तर्राष्ट्रिय संस्था कन्पिmडेरेसन अफ एसियन प्यासिफिक एकाउन्टेन्ट्स -कापा) सम्मेलनमा पनि नेपाल प्रतिनिधिलाई बढ्दो बैंकिङ

क्षेत्रको लेखापरीक्षणबारे चासो राखेका थिए ।

'अर्थतन्त्र सानो भएको मुलुकले थेग्नै नसक्ने गरी वाणिज्य बैंकहरू बढिरहेका छन्, तिनीहरूको वित्तीय अवस्था के कस्तो छ भनेर हामीलाई सोधिएको थियो,' कर्णले भने, 'हामीकहाँ शाखाको छुट्टै लेखाप्रतिवेदन बनाउने चलन नभएको भन्ने थाहा पाउँदा उनीहरू अचम्भित भए ।
सुरेश निरौला, http://www.ekantipur.com/np/2067/3/23/full-news/314224/