काठमाडौ, अषाढ २२ - पछिल्लो ६ महिना चरम तरलता अभावको समाना गरे पनि चालू आर्थिक वर्षमा वाणिज्य बैंकहरूको नाफा नघट्ने देखिएको छ । असार दोस्रो सातासम्म नेपाल राष्ट्र बैंकले संकलन गरेको तथ्यांकको आधारमा वाणिज्य बैंकहरूको कुल नाफा १५ अर्ब नाघ्ने देखिएको छ ।
वर्षको पहिलो ६ महिनामा भएको उल्लेख्य कर्जा प्रवाहका कारण यो वर्ष नाफा नघटेको राष्ट्र बैंक स्रोतले जनाएको छ । 'यस वर्ष वाणिज्य बैंकहरूको नाफा १५ अर्ब नाघ्ने देखिन्छ,' केन्द्रीय बैंकका एक उच्च अधिकारीले भने । देशभर २७ वाणिज्य बैंक सञ्चालित छन् ।
वाणिज्य बैंकहरूले साउनदेखि पुससम्ममा करिब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यससँगै माघयता बढेको ब्याजदरले पनि बैंकहरूलाई यस वर्ष सन्तोषजनक अवस्थामै राख्नेछ । केन्द्रीय बैंकको अनुमानअनुसार नाफा हुने हो भने यो रकम गत वर्षको भन्दा १ अर्ब रुपैयाँ बढी हुनेछ । गत वर्ष वाणिज्य बैंकहरूको कुल नाफा १४ अर्ब रुपैयाँ थियो ।
यस वर्षको चैतसम्ममा बैंकहरूको नाफा १० अर्ब ३१ करोड रुपैयाँ छ । माघदेखि चैतसम्म यो नाफा करिब ३ अर्ब रुपैयाँले बढेको छ । 'चौथो त्रैमासिकमा असुली बढ्ने र ब्याजदरमा पनि वृद्धि भएकाले बैंकहरूले ५ अर्ब रुपैयाँ नाफा आर्जन गर्नसक्ने देखिन्छ,' राष्ट्र बैंक स्रोतले भन्यो । यता बैंकरहरूले भने नाफाबारे अहिल्यै अनुमान गर्न नसकिने बताएका छन् । 'पहिलो ६ महिनाभन्दा दोस्रो ६ महिनामा घट्न सक्ने अनुमान गरेका छौं,' बैंकर्स संघका अध्यक्ष ससिन जोशीले भने, 'तर अहिल्यै भन्न सकिँदैन ।'
तरलता अभाव र त्यसलगत्तै देखिएको शोधनान्तर घाटाले यस वर्ष बैंकहरूको कारोबारमा उतारचढाव देखियो । पुससम्म घरजग्गा, सेयरलगायत हायर पर्चेजमा धमाधम लगानी गरका बैंकले त्यसयता कर्जा प्रवाह करिबकरिब बन्द गरेका छन् । निक्षेप आउन कम हुन थालेपछि एकातर्फ उच्च ब्याज तिरेर एक अर्को बैंकबाट रकम जोहो गर्नुपर्यो भने अर्कोतर्फ सर्वसाधारणलाई आकृष्ट गर्न ब्याजदर बढाइयो ।
घरजग्गा कर्जामा सीमा तोकिएपछि सीमा नाघेका बैंकहरूले कर्जा बन्द गर्नुपर्यो । निक्षेप नबढेकाले अन्य बैंकले पनि निक्कै सजग भएर कर्जा दिइरहेका छन् । यसबीचमा बढेको ब्याजदरले कर्जा लिइसकेका सर्वसाधारणलाई भने बढी ब्याज तिर्नुपरेकाले समस्या बढेको छ । आगामी आर्थिक वर्ष भने बैंकहरूका लागि केही कठिन हुनेछ । निक्षेप केही बढ्न थाले पनि कर्जा प्रवाह गर्ने स्वतन्त्रता भने बैंकहरूले पाउने सम्भावना कमै छ । यस वर्षको अन्त्यसम्ममा निक्षेप भने ६ खर्ब नाघ्ने अनुमान केन्द्रीय बैंकको छ । यो अनुमानलाई आधार मान्ने हो भने पछिल्लो ६ महिनामा निक्षेप २० अर्ब रुपैयाँ मात्र बढेको छ ।
तरलता अभाव सुधार हुने संकेत नदेखिएको र अर्थतन्त्रका समस्या यथावत रहेकोले कर्जा प्रवाह पहिलेजस्तो सहज हुने छैन । हाउजिङलाई केही सहज बनाउनुपर्नेतर्फ केन्द्रीय बैंकले प्रयास थाले पनि टुंगो लागिसकेको छैन । शनिबार बजेटबारे आयोजित एक कार्यक्रममा राष्ट्र बैंक सञ्चालक समितिका सदस्यसमेत रहेका अर्थ सचिव रामेश्वर खनालले तत्काल सहज बनाउन नसकिने संकेत दिएका थिए । कर्जा प्रवाह सहज नहुने हो भने द्वन्द्वका समयमा समेत सन्तोषजनक कारोबार गरेको बैंकिङ क्षेत्र आगामी आर्थिक वर्ष प्रभावित हुनेछ ।
गोकर्ण अवस्थी, http://www.ekantipur.com/np/2067/3/22/full-news/314187/

Keine Kommentare:
Kommentar veröffentlichen