काठमाडौं, माघ १७- राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवा तथा सेवा शुल्कसम्बन्धी निर्देशन दिएपछि बचत खातामा बढी ब्याज पाउँदै आएका उपभोक्ताले कम ब्याज पाउन थालेका छन्।
केन्द्रीय बैंकले बचतको ब्याज दरमा २ प्रतिशत बिन्दुभन्दा बढीको फरक हुन नहुने निर्देशन (मार्गदर्शन) जारी गरेको थियो। यसलाई लागु गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाले कम ब्याज दिएकालाई नबढाएर बढी भएकाको ब्याजलाई घटाएर तल झारेका हुन्। पहिले ११ प्रतिशतसम्म दिएको ब्याज घटाएर ८ प्रतिशतमा झारिएको छ। अर्कोतिर निकै तल रहेको ब्याज दरलाई भने केहि माथि लगिएको छ।
'राष्ट्र बैंकले जनताका लागि नीति लिएको भन्दै लिएको नीतिले जनतालाई नै घाटा हुने काम गरेको छ,' एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले नागरिकसँग भने, 'कम दरको बचत खाताको ब्याज बढाउने अवस्था नभएकाले बढी भएकोलाई घटाउँदा यस्तो भएको हो।' उनले प्रतिस्पर्धाले ग्राहकले पनि बढी व्याज दिने बैंक खोज्ने थालेकाले पछिल्लो एक वर्षदेखि पुराना खाताको पैसा नयाँ बचत खातामा सरेको दावी गरे।
'बैंकहरुले पुरानो खाता सञ्चालनमा राखे पनि पछिल्लो समयमा त्यसमा पैसा घट्न थालेको थियो,' उनले भने, 'ग्राहकले बढी व्याज आउने खातामा पैसा सार्न थालेका थिए।'
वाणिज्य बैंकहरुले यसअघि अधिकतम ११ प्रतिशतसम्म बचत खातामा ब्याज दिइरहेका थिए। यो नीतिपछि ब्याज दर प्रकाशित गरेका बैंकहरुले अधिकतम ८ प्रतिशतसम्म दिने जनाएका छन्। अहिलेसम्म प्राइम कमर्सियल, सिटिजन्स इन्टरनेसनल, हिमालयन र जनता बैंकले ब्याज दर प्रकाशित गरेका छन्।
बचत खाताको ब्याजदर परिवर्तन गर्दा सबै प्रकृतिको बचत खातालाई समान रुपमा लागू हुने गरी ब्याजदर समायोजन गर्नु पर्ने केन्दीय बैंकको नीति अनुसार बैंक तथा वित्तीय संस्थाले २ प्रतिशत विन्दुको फरक राखेर बचतको नयाँ ब्याज निर्धारण गरेका छन्। बैंक तथा वित्तीय संस्थाले बढी दरमा घटाएको र कम दरका पुराना खाताको बढाएर व्याज समायोजन गरेका छन्।
'कम व्याज भएको खातामा पैसा राखेका ग्राहकलाई वढी भएको खातामा पैसा राख्ने विकल्प थियो,' अर्का एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, 'उनीहरुले पैसा सार्ने वित्तीकै बढी ब्याज पाउँथे। तर,केन्द्रीय बैंकको निर्देशनले गर्दा त्यो अवस्था रहेन। यसले ग्राहकलाई नै घाटा भएको छ।'
निर्देशनअघि हिमालयन बैंकले बचत खातामा साढे नौं प्रतिशतसम्म ब्याज दिँदै आएको थियो। २ प्रतिशत विन्दुभन्दा वढीको फरक हुन नहुने नीति पछि बैंकले ब्याज घटाएर ५ देखि ७ प्रतिशत कायम गरेको छ। प्राइमले पनि ९ प्रतिशतसम्म व्याज दिन्थ्यो। अहिले बैंकको अधिकतम व्याज ८ प्रतिशत छ। अन्य दुई बैंक जनता र सिटिजन्सले पनि २ प्रतिशत विन्दुको फरक राख्दै व्याज दर कायम गरेका छन्।
'बैंकहरुसँग निक्षेप घट्न थालेपछि ब्याज दरमा प्रतिस्पर्धा भएर उपभोक्ताले वढी पाउन थालेका थिए,' ती बैंकरले भने, 'पुरानो खाताको पनि वढाउनु पर्ने भएपछि धेरै व्याज भएको खाताको दर घटाउन बाध्य हुँदा उपभोक्तालाई नै घाटा भयो।' उनले व्याज दर तोक्ने जिम्मा बजारलाई छाडिदिनु पर्ने भन्दै राष्ट्र बैंकले त्यो अधिकार खोसेकाले उपभोक्ता मार्कामा परको दावी गरे। राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म वाणिज्य बैंकहरुसँग ६ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप छ। यसको ३५ प्रतिशत अर्थात २ खर्ब ३३ अर्ब रुपैयाँ बचत खातामा छ
Source: सुदर्शन सापकोटा, from http://nagariknews.cloudaccess.net/economy/banking-money/22947-2011-01-31-05-57-02.html
Abonnieren
Kommentare zum Post (Atom)

Keine Kommentare:
Kommentar veröffentlichen