वीरगन्ज, वैशाख १५ - नक्कली नागरिकता अभियोगमा पक्राउ परेका रौतहट रघुनाथपुर-५ का प्रदीप रस्तोगीले एसबिआई बैंकका ११ शाखामा उनले ५५ वटा खाता खोलेको स्विकारेका छन् ।
'साथीले एटिएमबाट भारु झिकेर सजिलै राम्रो आम्दानी गरेको देखेपछि मैले पनि यो धन्धा अपनाएको हुँ,' प्रहरी हिरासतमा रहेका रस्तोगीले कान्तिपुरसित भने, 'यही कामका लागि फरकफरक नाममा २३ वटा नागरिकता झिकेको हुँ ।'
प्रहरीले बरामद गरेको नक्कली नागरिकतामा भाउजू विन्दुदेवीको फोटो राखेर महिलाको नाममा ३ वटा, दाजु संजीव रस्तोगीको फोटो प्रयोग गरी ९ वटा र बाँकीमा आपmनो फोटो प्रयोग गरेको भेटिएको छ । उनले नक्कली नागरिकता प्रयोग गरी एसबिआईमा खाता खोल्नुका साथै १४ वटा एटिएमसमेत प्राप्त गरिसकेका छन् । २३ वटा चेक बुक पाएको उनले बताए । नाम अगाडि सेतो कागजले छोपी फोटोकापी गरी रस्तोगीले विपिन पाठक, मुन्नकुमार रस्तोगी, विजय पण्डितलगायत काल्पनिक नाम राखी नागरिकता बनाएको खुलासा भएको छ ।
बैंकका कर्मचारीको मिलेमतोमा उनले आवश्यक कागजपत्रको फोटोकापी मात्र दिएर खाता खोल्ने गरेका थिए । एउटै व्यक्तिको फोटोले ५५ वटा खाता खुल्दासमेत बैंकले जानकारी पाएको छैन ।
सीमावर्ती रक्सौल बजारस्थित कृष्णा हल नजिक रहेको एक प्रेसबाट ५५ भारुमा नेपाली नागरिकताको कागज किनी उनले आफ्नै फोटो राखी नक्कली नागरिकतासमेत बनाएको खुलाए । ०६६ मा लिएको भनिएको नक्कली नागरिकतामा 'श्री ५ को सरकार' उल्लेख गरिए पनि बैंकले पत्तो पाएको छैन ।
यता एसबिआईको वीरगन्ज शाखाका सहायक प्रमुख प्रदीप आचार्यले रस्तोगीले सक्कली नागरिकता प्रयोग गरेर एउटा मात्र खाता खोलेको दाबी गरे । काठमाडौंको दरबारमार्ग, बौद्ध, महाराजगन्ज र भक्तपुरको शाखाबाट उनले थप खाता खोलेका छन् । आर्चायका अनुसार खाता खोल्दा र्फममा मात्र फोटो हुने तर कम्प्युटरमा फोटो सेभ नहुने भएकाले दुरुपयोग भएको हो । बिहान कारोबार सुरु हुनासाथ सीमापारिका एटिएमबाट भारु निकाल्नेको बैंक काउन्टरमा लाम लाग्ने गरेको छ । भारतमा पैसा निकाल्दा एसबिआईको एटिएमबाट मात्र १ सय रुपैयाँ सेवा शुल्क लाग्छ भने अन्य बैंकको २ सय ५० रुपैयाँसम्म शुल्क लाग्ने गरेको छ । एसबिआईको एटिएमबाट कम सेवा शुल्क लाग्ने गरेकाले अवैध कारोबारीले उक्त बैंकमा कारोबार गर्न रुचाउँछन् । भारतीय एटिएम अगाडि सुरक्षार्थ खटिएका गार्डले अवैध कारोबारीसँग प्रतिएटिएम २० भारु लिने गर्छन् । 'गार्डलाई पैसा नदिए भित्र छिर्नै दिँदैन,' उनले भने, 'कमाउने हो भने पैसा नदिई सुखै छैन ।' विशेष सुराकीको आधारमा प्रहरी प्रधान कार्यालयको टोलीले मगंलबार रस्तोगीलाई वीरगन्जस्थित होटल कुमु प्यालेसबाट हिरासतमा लिएको थियो । थप अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रस्तोगीले तीन महिना अघिदेखि यो कारोबार सुरु गरेको बताए ।
पैसा अभावमा उनले दैनिक १ लाख भारुदेखि २ लाखसम्मको कारोबार गर्ने गरेको बताए । 'पैसा धेरै भएको भए सायद धेरै कमाउँथे,' उनले भने । महिनामा उनले करिब ३५ हजार भारु आम्दानी गर्ने गरेको जनाए । केही एटिएम उनले रक्सौलका व्यापारी ओम प्रकाशलाई भाडामा प्रयोग गर्न दिएको बताए ।
वीरगन्ज र सीमावर्ती सहरमा रस्तोगीजस्ता थुप्रै कारोबारी रहेको प्रहरीले जनाएको छ । राष्ट्र बैंकले गत चैतबाट अवैध कारोबार फस्टाएको भन्दै दैनिक १० हजार र मासिक १ लाख रुपैयाँसम्म मात्र झिक्न सक्ने सीमा तोकेपछि रस्तोगीले थप ३० वटा नयाँ खाता खोलेको बताए । यसअघि दैनिक २५ हजार र मासिक २ लाख रुपैयाँसम्म निकाल्न सकिन्थ्यो । रस्तोगीलाई नागरिकता र बैंकिङ कसुरसम्बन्धी कानुनअन्तर्गत कारबाही सुरु गरिने प्रहरी उपरीक्षक मनोज जोशीले बताए । भारु अभाव भएका कारण सीमा क्षेत्रमा धेरैको बिहान खातामा पैसा जम्मा गरी रक्सौल गएर भारु निकाल्ने दैनिकी बनेको छ । यस्तो कारोबारमा संलग्नले गाउँका सोझासाझालाई केही रकम दिई तिनकै नाममा खाता खोलेर एटिएम कार्डचाहिँ आफूसँग राख्ने गरेका छन् ।
यसैबीच नक्कली नागरिकता बनाई एटिएम दुरुपयोग गर्ने रस्तोगीउपर पर्सा प्रहरीले किर्ते मुद्दा चलाएको छ । पर्सा प्रहरी प्रवक्ता एवं मुद्दा फाँटका प्रमुख प्रहरी निरीक्षक भीमकिरण बोगटीका अनुसार तत्कालका लागि रस्तोगीले किर्ते नागरिकता बनाएर एटिएमको दुरुपयोग गरेको पाइएकाले उनीउपर यो मुद्दा चलाइएको बताए ।
त्यसपछि उनीउपर हुने थप अनुसन्धान, बयानलगायत प्रक्रियापछि आवश्यक मुद्दा क्रमैसँग चलाइने बोगटीले जानकारी दिए । रस्तोगीलाई प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार वीरगन्जको बसपार्क क्षेत्रबाट पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो ।
by शंकर आचार्य/भूषण यादव, प्रकाशित मिति: २०६८ वैशाख १५ १०:००
http://www.ekantipur.com/np/2068/1/15/full-story/328674.html
Abonnieren
Kommentare zum Post (Atom)

Keine Kommentare:
Kommentar veröffentlichen