Donnerstag, 21. April 2011

सेयर प्रमाणपत्र र पैसा छिटो दिन निर्देशन

काठमाडौं, वैशाख ८ (नागरिक) - सेयर किनबेच गर्दा पैसा र प्रमाणपत्र चाँडो नदिने प्रवृत्ति बढेपछि धितोपत्र बोर्डले नियमानुसार तत्काल दिन सेयर दलालहरुलाई कडा निर्देशन दिएको छ। धितोपत्र कारोबार नियमावलीमा सेयर खरिदबिक्री भएको तीन दिनभित्र रकम र प्रमाणपत्र स्टक एक्सचेन्जसमक्ष बुझाउनुपर्ने व्यवस्था छ।
तर, अधिकांश सेयर दलालहरुमा समयमा नदिने प्रवृत्ति छ।

सेयर बिक्री गर्ने लगानीकर्ताले पैसा पाउन एक महिनासम्म कुर्नुपरेको गुनासो गरे पछि बोर्डले बुधबार बैठक बोलाई दलालहरुलाई यस्तो निर्देशन दिएको हो। दलाल र स्टकका अधिकारीसहितको बैठकमा बोर्डले सेयर बिक्री गर्ने दलालले तीन दिनभित्र प्रमाणपत्र र खरिद गर्नेले दुई दिनमा पैसा स्टक एक्सचेन्जमा उपलब्ध गराउने व्यवस्था तत्काल गर्न निर्देशन दिएको थियो।
‘धेरै लामो अवधिसम्म पैसा नपाउने अवस्था अन्त्य गर्न स्टक र दलाललाई निर्देशन दिएका छौंं,' बोर्डका निर्देशक निरज गिरीले नागरिकसँग भने।
सेयर खरिदकर्ता ब्रोकरले पहिलो दिनमा रकम स्टक एक्सचेन्जमा जम्मा गर्ने र बिक्री कर्ताले दुई दिनभित्र प्रमाणपत्र बुझाउनुपर्ने व्यवस्था धितोपत्र कारोबार नियमावलीमा छ। तेस्रो दिन एक्सचेन्जले राफसाफ गर्नुपर्छ। त्यसपछि सात दिनभित्र लगानीकर्ताले रकम पाउनुपर्ने व्यवस्था छ। ‘सात दिनभित्र बिक्री गर्नेले पैसा पाएकै छैनन्,' लगानीकर्ता दीपक कार्कीले नागरिकसँग भने, ‘पैसा र प्रमाणपत्र पाउन ढिलाइ नगर्न गरेको अनुरोधलाई बेवास्ता गरिएको छ।'
दलाल र स्टकले एक अर्कालाई आरोप लगाएर पन्छिने गरेको गुनासो उनले गरे। ‘स्टकमा भन्यो दलाल लिएर आऊ भन्छन्, दलालले स्टकले ढिला गरेको बताउँछन्,' उनले भने।
बैठकमा बोर्डका अध्यक्ष शुरवीर पौड्याल, निर्देशक गिरी, नारायणप्रसाद शर्मा, स्टकबाट निरन्जन फुँयाल, खोमप्रसाद भट्ट, सौरभ थपलिया र धितोपत्र दलालसंघका अध्यक्ष नन्दकिशोर मुन्दडा र महासचिव अञ्जनराज पौडेल सहभागी थिए।
बैठकमा सहभागी एक अधिकारीका अनुसार केही सेयर दलालले एक महिनासम्म रकम र प्रमाणपत्र नबुझाएकाले लगानीकर्तासँग काम गर्न असजिलो भएको गुनासो गरेका थिए। यस्तो समस्या आउँदा पनि स्टकले दलाललाई कारबाही नगरेको दलालहरुको गुनासो थियो। ‘प्रमाणपत्र र रकम नबुझाउनेलाई कारबाही गर्नुको सट्टा उल्टै दलाललाई नै मिलेर आउन स्टकले भन्ने गरेको छ,' दलाल व्यवसायीले बैठकमा भनेका थिए।
सेयर खरिद गर्ने दलालले समयमा नै पैसा बुझाए पनि बिक्री गर्नेले प्रमाणपत्र नबुझाएको अवस्थामा दुई वटैलाई कारोबार गर्न रोक्ने नीति स्टकले लिएको छ। ‘यस्तो व्यवस्थाले समयमा नै काम गर्ने र नगर्नेलाई एउटै व्यवहार गरेको गुनासो दलालले गरे,' गिरीले भने।
स्टकका प्रतिनिधिले गल्ती गर्ने दलालको मात्रै कारोबार रोक्ने बताए। ‘नियतवश कारोबार रोक्नेलाई कारबाही हुने उनीहरुले बताए,' उनले भने।
लगानीकर्ताहरुले सेयर खरिद गरेको भोलिपल्टै दलाललाई पैसा बुझाउने गरेका छन्। उनीहरुले सेयर बिक्री गरेको पैसा लिन भने लामो अवधि कुर्ने गरेका छन्। दलालले सेयर खरिद गर्नेसँग तत्काल पैसा लिए पनि बिक्री गर्नेलाई दिने बेलामा अनेक बहाना गर्ने गरेको गुनासो लगानीकर्ताले गरेका छन्।
दलालहरुले केही कम्पनीमा मात्रै यस्तो प्रवृत्ति रहेको बताए। ‘४-५ दलालको ढिलाइ समग्र व्यवसायमा नकारात्मक असर परेको छ,' एक दलालले भने। सेयर खरिद गर्ने दलालले स्टकको बैंक खातामा रकम जम्मा गर्छ र अर्को बिक्री गर्ने दलाललाई स्टकले दिने गरेको छ।
दोस्रो बजारमा सेयरको खरिद-बिक्री दलाल मार्फत नै हुने गरेको छ। कम्पनीले निस्कासन गरेका साधारण र संस्थापक सेयर खरिद बिक्री गर्न २३ दलाल कम्पनी छन्। बजारमा १५ लाख लगानीकर्ता रहेको अनुमान छ।
http://nagariknews.com/economy/industries/25650-2011-04-21-03-34-29.html

Keine Kommentare:

Kommentar veröffentlichen