सुदर्शन सापकोटा, काठमाडौं, वैशाख ७- चिनिया मुद्रा युआन नेपाली रुपैयासँग निरन्तर बलियो भएका कारण चीनसँगको व्यापार घाटा झनै बढ्ने भएको छ।
प्रत्येक वर्ष चीन निर्यात घट्दै गएको छ भने आयात बढिरहेको छ। ‘चीनतर्फको आयात बढिरहेका बेला युआन बलियो भएकाले यसको असर व्यापार घाटामा पर्छ,' अर्थशास्त्री चिरञ्जीवी नेपालले मंगलबार नागरिकसँग भने, ‘चिनिया वस्तुमा निर्भरता बढिरहेका बेला यसले मूल्य पनि वृद्धि हुन्छ।'
पछिल्लो तीन महिनामा एक रुपैयाँ बराबार युआन १० रुपैयाँ ४ पैसाबाट बढेर ११ रुपैयाँ ९८ पैसासम्म पुगेको छ। केही दिनयता १० रुपैयाँ ९२ पैसामा झरेको छ। चार वर्षअघि ६ रुपैयाँ थियो।
व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका अनुसार गत माघसम्मको चीनतर्फको आयात १९ प्रतिशतले बढेको छ। यसै अवधिमा निर्यात भने साढे ४५ प्रतिशतले घटेको छ।
माघसम्मको तथ्यांकअनुसार चीनबाट ३९ अर्ब २१ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ। यसअघि यो ३२ अर्ब ८५ करोड रुपैयाँ थियो। निर्यात १ अर्ब ८४ करोड रुपैयाँबाट घटेर १ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ।
युआनमा भएको वृद्धिसँगै चिनिया वस्तुको मूल्य नेपाली बजारमा बढेको छ। व्यवसायीका अनुसार मुद्रामा भएको वृद्धिले चिनिया वस्तुको नेपाली बजारमा २० देखि ३० प्रतिशतले मूल्य बढेको छ।
‘मुद्रा बलियो भएर चिनिया वस्तुको मूल्य उकालो लागेको छ,' हिमालय सीमापार व्यापार संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले मंगलबार नागरिकसँग भने, ‘सस्तोमा पाइएको सामान तीन महिनायता एकाएक महँगो भएको छ।'
पछिल्लो समय युआन डलर र भारतीय रुपैयाँसँग बलियो भएर गएको छ। नेपाली रुपैयाँको विनिमय दर भारुमा निर्भर हुने भएकाले यो कमजोर हुँदा युआन नेपालीभन्दा बलियो हुन्छ। ‘युआन बलियो हुनु नेपालका लागि राम्रो होइन,' अर्थमन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार केशव आचार्यले नागरिकसँग भने, ‘यसले व्यापार घाटासँगै सरकारी ऋण तिर्न पनि बढी पैसा खर्च गर्नुपर्ने हुन्छ।'
चिनिया अर्थतन्त्र बलियो हुँदै गएपछि त्यहाँको मुद्रा पनि बलियो भएको हो। अहिले चीनको अर्थतन्त्र ९.७ प्रतिशतका दरले विस्तार भइरहेको छ। अर्थशास्त्री नेपालका अनुसार इन्धनमा आएको मूल्य वृद्धिपछि चिनिया उत्पादनको मूल्य पनि बढेको हो। साथै अर्थतन्त्रको विस्तारले चिनियाको जीवनस्तर सुधार भएर श्रमको मूल्यमा पनि वृद्धि भएको छ। यसले चिनिया मुद्रालाई बलियो बनाएको हो। युआन बलियो भएपछि अहिले त्यहाँ मूल्यवृद्धि पनि बढेको छ।
नेपालले चिनियाँतर्फको आयात बढिरहेका बेला मुद्रा बलियो हुँदा यसको असर शोधानन्तर घाटामा समेत पर्ने बताए। ‘शोधनान्तर घाटा थप बढ्छ,' उनले भने। अहिले शोधनान्तर घाटा १२ अर्ब ४३ करोड रुपैयाँ छ। चीनबाट खासगरी विद्युतीय उपकरण, लत्ताकपडा, टायल, बाथरुम फिटिङ, स्टेसनरी सामान बढी आउँछ। नेपालबाट भने चाउचाउ, बिस्कुट, वनस्पति घिउ, चकलेटलगायत सामान निर्यात हुन्छ।
आचार्यले निर्यात व्यापार र चिनिया लगानी भने आकर्षित गर्न सकिने जानकारी दिए। पहिले बढी युआन खर्च गर्नुपर्ने नेपाली सामानलाई अब थोरैमा किन्न सकिने भएर हाम्रो निर्यात व्यापारमा सहयोग पुग्ने भन्दै उनले चिनिया पर्यटकका लागि नेपाल सस्तो मुलुक हुने बताए। ‘उनीहरुलाई पहिलेभन्दा थोरै पैसा खर्च गरेर लगानी विस्तार गर्न सक्छन्,' आचार्यले भने, ‘पर्यटन वर्षका बेला यतातिर आकर्षित गर्न सकिन्छ।'
व्यवसायीका अनुसार युआन बलियो भएका बेला नेपालको निर्यात व्यापार वढाउन सकिन्छ। ‘चीनले हामीलाई करिव ५ सय वस्तुमा भन्सार छुट दिएको छ,' श्रेष्ठले भने, ‘छुट पाएका वस्तुको निर्यात बढाएर फाइदा उठाउन सकिन्छ।'
http://nagariknews.com/economy/banking-money/25635-2011-04-20-10-25-10.html
Mittwoch, 20. April 2011
Abonnieren
Kommentare zum Post (Atom)

Keine Kommentare:
Kommentar veröffentlichen