काठमाडौ, वैशाख १५ - राष्ट्र बैंकले दुई सरकारी बैंकमा यसै वर्ष सञ्चालक समिति र प्रमुख नियुक्त गरी सुधार प्रक्रियालाई निरन्तरता दिने भएको छ । राष्ट्र बैंकका कर्मचारीले व्यवस्थापन सम्हालेको नेपाल बैंकमा पुँजी वृद्धि गरी पुस मसान्तभित्र नयाँ सञ्चालक समिति गठन गर्ने योजना केन्द्रीय बैंकको छ । यसैगरी वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको पनि केन्द्रीय बैंकले जनाएको छ ।
वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत विदेशी व्यवस्थापनले समेत सम्हालेका यी दुई बैंकमा दुई वर्षयता नेतृत्वबारे अन्योल थियो । प्रमुख नियुक्तिका लागि विज्ञापन भए पनि छनोट हुन नसकेका बेला राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले ५६ औं वाषिर्कोत्सवका उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रस्ट योजना सार्वजनिक गरेका हुन् ।
भारतीय मुद्राको उच्च माग सम्बोधन गर्न केन्द्रीय बैंकले भारतीय बैंकमा 'नोस्ट्रो खाता' खोल्न मिल्ने प्रावधान खुकुलो पार्ने बताए । 'यस्तो खाता खोल्न माग भएमा अनुमति दिइनेछ,' उनले भने ।
बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण प्रक्रियालाई प्रभावकारी बनाउन जोखिममा आधारित अनुगमन प्रणाली लागू गर्ने तयारी केन्द्रीय बैंकको छ । यसका लागि मस्यौदा बनाउन सुरु भएको गभर्नर खतिवडाले बताए ।
यसबाहेक दुर्गम क्षेत्रमा शाखा खोल्न प्रोत्साहित गर्न बैंक वित्तीय संस्थालाई दिने भनिएको निब्र्याजी कर्जा सुविधाअन्तर्गत केन्द्रीय बैंकले ६ करोड रुपैयाँ विभिन्न बैंकलाई दिएको जनाइएको छ । वाणिज्य र विकास बैंकले यस्तो सुविधा लिएका हुन् । चालू आर्थिक वर्षको मौदि्रक नीतिमार्फत तोकिएका २२ दुर्गम जिल्लाको सदरमुकाम र सदरमुकाम बाहिर शाखा खोल्दा ५० लाख र १ करोड रुपैयाँ शून्य ब्याजदरमा कर्जा दिने घोषणा गरिएको थियो ।
वाणिज्य बैंकको कर्जा निक्षेप असन्तुलन भने सुधार हुन नसकेको गभर्नरले बताए । आर्थिक वर्ष २०६७/६८ को ८ महिनासम्ममा वाणिज्य बैंकको निक्षेप १२ अर्ब १४ करोडले बढेको छ भने कर्जा तथा लगानी ५४ अर्ब २४ करोड रुपैयाँले बढेको छ ।
शोधानान्तर घाटा भने केही कम भएको छ । चालू आर्थिक वर्षको फागुन मसान्तमा शोधनान्तर घाटा ११ अर्ब ३० करोड रुपैयाँ छ । माघमा उक्त घाटा १२ अर्ब ५७ करोड रुपैयाँ थियो । यसले विदेशी मुद्रा सञ्चिति पनि कम हुँदै गएको छ । २०६७ असार मसान्तको तुलनामा ४ दशमलव ४ प्रतिशतले घटेर विदेशी मुद्रा सञ्चिति २ खर्ब ५७ अर्बमा सीमित भएको उल्लेख छ ।
८ महिनामा निर्यात ६ दशमलव ६ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार आयातको वृद्धिदर १ दशमलव ४ प्रतिशत रहेको कारण आर्थिक वर्षको पहिलो ८ महिनामा निर्यात- आयात अनुपात १६ दशमलव ९ प्रतिशत पुगेको छ ।
आर्थिक वर्षको आठ महिनामा मूल्य वृद्धि दोहोरो अंकमा कायम छ । केन्द्रीय बैंकका अनुसार यस अवधिमा मूल्य वृद्धिदर १० दशमलव ७ प्रतिशत छ । यसबाहेक सरकारले गर्ने खर्चको तुलनामा राजस्व संकलन उच्च देखिएको छ । आर्थिक वर्ष २०६७/६८ को ९ महिनासम्ममा नगद प्रवाहमा आधारित सरकारी बजेट ६ अर्ब ४७ करोड रुपैयाँले बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।
कार्यक्रममा केन्द्रीय बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकका सबै कर्मचारीले पहल गर्नुपर्ने बताए । 'गभर्नर सक्षम छन्, सबै मिलेर वित्तीय संकट समाधान गर्न काम गर्न जरुरी छ,' उनले भने ।
प्रकाशित मिति: २०६८ वैशाख १५ ०९:५५
http://www.ekantipur.com/np/2068/1/15/full-story/328671.html
Donnerstag, 28. April 2011
Abonnieren
Kommentare zum Post (Atom)

Keine Kommentare:
Kommentar veröffentlichen