Donnerstag, 21. April 2011

वाणिज्य बैंक धरासायी बनाउने उद्योगपतिलाई एक वर्ष कैद गर्न आदेश

मतियार बैंक कर्मचारीलाई ६ महिना कैद सजाय-
काठमाडौं, वैशाख ८ (नागरिक)- राष्ट्रिय वाणिज्य बैंक विराटनगरबाट सीमाभन्दा बढी ऋण लिइ कर्जा भुक्तान नगर्ने उद्योगपतिहरु कुमार अग्रवाल, सुरेश कुमार अग्रवाल, कृष्ण कुमार अग्रवाल, नारायण अग्रवाल, दामोदर अग्रवाल र मंगतुराम अग्रवाललाई विशेष अदालतले एक वर्षको कैद सजाय सुनाएको छ। पर्याप्त धितोबिनै करोडौं रुपैयाँ ऋण प्रवाह गर्ने बैंक कर्मचारीलाई ६ महिना कैदको सजाय सुनाइएको छ।

बैंकलाई नोक्सानी पुर्‍याउने मध्येका राष्ट्रिय वाणिज्य बैंकका तत्कालीन प्रबन्धक राधाप्रसाद साह तथा कर्मचारीहरु चन्द्रलाल अमात्य, शिव चरण मण्डल र भैरव प्रसाद पोख्रेललाई ६ महिना कैद गर्न अदालतले आदेश दिएको हो।

सुवोध कुमार अग्रवाल, सुरेश कुमार अग्रवाल, कृष्ण कुमार अग्रवाल, नारायण अग्रवाल, दामोदर अग्रवाल र मंगतुराम अग्रवाल संलग्न रहेका कम्पनी र प्राईभेट फर्मको बैंक ऋण १ अर्ब ३७ करोड ७१ लाख छ। पर्याप्त धितो नलिइ ठूलो मात्रामा प्रवाह भएको ऋण उठ्न नसक्दा बैंकलाई नोक्सानी पुगिरहेको छ।

'लगानी सम्बन्धी कागजात हेर्दा कर्जाको स्वीकृत सीमा नाघेको, न्यून र अप्रर्याप्त धितो राखी अत्यधिक मात्रामा कर्जा लिएको, पुरानो कर्जा नतिरी नयाँ कारोवार गर्दै गएको, आवश्यक प्रकृया नअपनाई कर्जा कारोवार गरेको, एउटा परियोजनाको लागि भन्दै माग गरेको कर्जा उक्त परियोजना संचालन नै नगरी मंगतुराम समूहकै अरु कार्यमा प्रयोग गरी संझौता बिपरीत कार्य गरेको' ठहर अदालतले गरेको छ।

२०६० सालमा बैंक र ऋणीबीच कर्जाको भुक्तानीलाई सहुलियत पूर्ण गराउने कुरा भएको थियो।



२०६० साल भन्दा अघिल्ला वर्षहरुमा गरेको वदनियतपूर्वक कर्जा लिएको विषयलाई थाती राखेकोमा अदालतले उन्मुक्ति दिने नमिल्ने भनेको छ। 'उन्मुक्ति पाउन नसक्ने हुँदा यी प्रतिवादीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) को कसूर गरेको ठहर्छ। सो ठहर्नाले निजहरुलाई जनही एक/एक बर्ष कैद सजाय हुन्छ र गैर कानूनी नोक्सानी पुग्न गएको विगो १ अर्ब ३७ करोड ७१ लाख ८३ हजार २ सय ३१ रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकले प्रतिवादीहरुबाट भराई लिन पाउने समेत ठहर्छ' अदालतको ठहर खण्डमा भनिएको छ।

न्यायाधीशहरु गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसेको इजालसले यस्तो फैसला सुनाएको हो।

http://nagariknews.com/politics/party-politics/25670-2011-04-21-11-03-31.html

Keine Kommentare:

Kommentar veröffentlichen