Freitag, 24. Juni 2011

'विश्वासको वातावरण बैँकहरूले नै बनाउनुपर्छ’: वीरगन्ज फाइनान्स र हिमचुली विकास बैँक गाभिएर बनेको एच एन्ड बी बैँककी CEO जसोदा सैँजु

सुशासनको अभाव र तरलता संकटका कारण वित्तीय क्षेत्रप्रति सर्वसाधारणको विश्वास केही डगमगाएको देखिन्छ। यस क्षेत्रको पछिल्लो अवस्थाका बारे वीरगन्ज फाइनान्स र हिमचुली विकास बैँक गाभिएर बनेको एच एन्ड बी बैँककी प्रमुख कार्यकारी अधिकृत जसोदा सैँजुसँगको कुराकानी :



वित्तीय संस्थाकी पहिलो महिला प्रमुख कार्यकारी अधिकृतको भूमिकालाई कसरी लिनुभएको छ ?

महिला हुँदैमा भूमिका फरक हुने होइन। बैँकिङ् क्षेत्रमा अहिले विभिन्न समस्या विद्यमान छन्। चुनौतीहरू पुरुष भए पनि महिला भए पनि उही हुन्। सामना गरेर अघि बढ्नुको विकल्प छैन।

वीरगन्ज फाइनान्स र हिमचुली विकास बैँकको ँमर्जर’ले वित्तीय क्षेत्रमा कस्तो सन्देश प्रवाह भएको छ ?

मर्ज भएर जानुपर्छ भन्ने सन्देश यस प्रक्रियाले दिएको छ। राष्ट्र बैँक र सरकारको नीति अनुसार मर्ज हुन सकिन्छ भन्ने पनि छ। मर्जरमा जानुको विकल्प नै छैन। सानो पँुजी भएका संस्थाहरू लामो समयसम्म चल्न सक्दैनन्। ठूलो आकार भएका संस्थाहरू गाभिँदा अहिले हाम्रो पुँजी ९० करोड पुगेको छ। संख्याको कुरा गर्दा फाइनान्स कम्पनी र विकास बैँकहरूको संख्या आवश्यकताभन्दा बढी भइसकेका छन्। संस्था जति बलियो भयो, उति नै राम्रो र दिगो हुन्छ। यो मर्जरले त अन्य संस्थाहरूलाई पनि प्रेरणा दिएको जस्तो लाग्छ।

अबका योजनाहरू के के छन् त ?

हाम्रो पहिलो उद्देश्य भनेकै संस्थालाई बलियो बनाउने हो। अहिले बजारमा बैँक र फाइनान्स कम्पनीहरूका समस्याबीच कसरी स्थापित हुने भन्ने नै हाम्रो उद्देश्य छ। शाखाहरूको विस्तार पनि क्रमिक रूपमा गर्दै जानेछौँ। ग्राहकको विश्वास जित्ने र सानो आकारका कर्जाहरूमा हामी बढी केन्दि्रत छौँ। त्यसैगरी साना उद्योगहरूमा हामी बढी फोकस गछौर्ं।

कतिपय वित्तीय संस्थाका पदाधिकारीहरूले मर्जर प्रक्रियालाई राष्ट्र बैँकले सहज तुल्याउन नसकेको भन्छन् नि ?

राष्ट्र बैँक र सरकारले सुविधा र सहुलियत नदिएको होइन। काम गर्दै जाँदा अझै धेरै सुविधा भए हुन्थ्यो भन्ने लाग्नु स्वाभाविक नै हो। अझै पनि राष्ट्र बैँकले दिन नसक्ने र राज्यले नै दिनुपर्ने कुराहरू पनि छन्। सबैभन्दा पहिले त फाइनान्स कम्पनीबाट वाणिज्य बैँक वा राष्ट्रियस्तरको बैँकमा स्तरोन्नतिमा जाँदा राष्ट्र बैँकको नीति अनुसार सबै सम्पत्ति सार्वजनिक गर्नुपर्छ तर त्यो सम्पत्तिमाथि कर लाग्छ कि लाग्दैन भन्ने कुरा पनि अन्योलमा छ। त्यसमा त अर्थ मन्त्रालय र भूमिसुधार मन्त्रालयको पनि संलग्नताको कुरा छ।

वित्तीय क्षेत्रमा देखा परेको पछिल्लो समस्या कसरी निराकरण होला ?

कतिपय बैँकहरूमा सञ्चालक समितिका पनि कमजोरीहरू छन्। कतिपयमा व्यवस्थापन पनि जिम्मेवार छ। जसले समस्याको बीउ रोपे, उनीहरू सजायको भागीदार हुनपर्‍यो। बैँक भनेको विश्वास हो। सबैले विश्वास भएकै बैँकमा आफूले कमाएको पैसा राख्ने गर्छन्। तर, त्यही बैँकका केही समस्याहरू सार्वजनिक हुँदा निक्षेपकर्ताहरू बैँकमा आफ्नो पैसा सुरक्षित गर्न लाइन लाग्छन् । विश्वासको वातावरण बैँकहरूले नै सिर्जना गर्नुपर्छ।

अहिलेको तरलता अभाव वास्तविक हो कि कृत्रिम ?

यो कसैद्वारा सिर्जित त होइन। यो के कारणले भएको हो भन्ने बैँकिङ् क्षेत्रको निक्षेप अपेक्षित रूपमा बढ्न नसकेकाबाट नै प्रस्ट हुन्छ। त्यसमा पनि अहिले विकास बैँक र फाइनान्सहरूप्रति पछिल्ला घटनाहरूले गर्दा सर्वसाधारणको विश्वास गुमेको छ। यसले तरलता अभावलाई थप चर्काएको छ। केही संस्थाले विश्वास गुमाउँदा पूरै वित्तीय क्षेत्रमा नकारात्मक सन्देश प्रवाह भएको छ।

कुनै निश्चित क्षेत्रमा अधिक कर्जा भएर पनि समस्या देखिएको होइन र ?

त्यो पनि सत्य हो। रयिल स्टेटले गति लिइरहेका बेला सबै त्यतैतिर लागेका थिए। थोरै पैसा हुनेहरूले समेत बैँकको ऋण लिने परपिाटीले गर्दा पनि समस्या बढाएको छ । रयिल स्टेटको बजार ह्वात्तै ओरालो लाग्दा यस्तो समस्या एकैचोटि निम्तियो। बजेट समयमा नआउनु पनि अर्को कारण मान्न सकिन्छ।

वित्तीय संस्थाहरू पनि सहरमुखी मात्रै किन ?

सुरक्षाको ग्यारेन्टी र पूर्वाधार निर्माण गरेर सरकारले गाउँ छिर्ने वातावरण तयार गर्नुपर्‍यो। म दार्चुलामा बैँक खोल्न चाहन्छु भने पनि अहिले भौतिक पूर्वाधारका कारण त्यो सम्भव छैन। कतिपय ठाउँमा बैँक चाहेर पनि जान सक्दैन। गाउँ जाउ“m भनेर मात्रै हुँदैन, सरकारले नै वातावरण बनाउनुपर्‍यो। सम्भावना भएका ठाउँमा त बैँक आफैँ गइहाल्छन् नि !



सेयर बजार

बल्ल उक्लियो सेयर बजार

१६ जेठदेखि निरन्तर ओरालो लागिरहेको सेयर बजार -नेप्से) २ असारमा ११ दशमलव २१ विन्दुले उक्लिँदै ३ सय ३ दशमलव ५३ मा कायम भयो। त्यसअघि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सरकार र नेपाल राष्ट्र बैँकले सर्वसाधारणलाई सेयरमा लगानी गर्न बारम्बार अनुरोध र आह्वान गर्दा पनि बजारमा मन्दी नै कायम थियो। १ असारमा नेप्से साढे ५ वर्षकै न्यून विन्दु २ सय ९२ दशमलव ३२ मा झरेको थियो। तर, २ असारमा होटल र फाइनान्सबाहेक सबै समूहमा वृद्धि देखियो। उक्त दिन 'क' वर्गका कम्पनीहरूको परसिूचक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ८ विन्दुले बढ्दै ७४ दशमलव १२ मा आइपुग्यो। त्यसदिन स्ट्यान्र्ड चार्टर्ड बैँकको सेयर १ सय ३० अंकले बढ्यो। जबकि साताको पहिलो दिन नेप्से ३ सय ४ दशमलव १३ मा रहेको थियो। त्यसको दुई दिनपछि ३१ जेठमा तीन सय विन्दुभन्दा तल झर्दै नेप्से २ सय ९७ दशमलव ६३ मा आइपुगेको थियो। तर, त्यसपछि पनि कायमै रह्यो नेप्सेको वियरसि ट्रेन्ड। कारोबार रकमलाई हेर्दा ३० जेठमा २ करोड २८ लाख ८६ हजार ४ सय २३ रुपियाँ रह्यो भने नेप्सेमा वृद्धि भए पनि २ असारमा २ करोड १७ लाख ५३ हजार ५ सय ७८ रुपियाँको मात्र कारोबार भयो। किनबेचका आधारमा सेयर संख्या पनि क्रमश: घट्दै गएको छ। २९ जेठमा ९६ हजार ६ सय १४ कित्ता सेयर किनबेच भएकामा ३१ जेठमा ६९ हजार २ सय १५ कित्ता सेयरको मात्र किनबेच भयो।



सुनचाँदी

गत साता सुनचाँदीको भाउमा खासै उतारचढाव देखिएन। साताको पहिलो दिन २९ जेठमा छापावाल सुन प्रतितोला ४२ हजार ७ सय ५० रुपियाँ रहेकामा २ असारमा आइपुग्दा प्रतितोला ४२ हजार ६ सय ५० रुपियाँ रह्यो। ३० जेठमा प्रतितोला ४२ हजार ८ सय रुपियाँ रहेको कारोबार पहँेलो धातुको भाउ ३१ जेठमा ४२ हजार ५ सय रुपियाँ र १ असारमा ४२ हजार ५ सय ५० रुपियाँ कायम भएको थियो। चाँदीको मूल्य भने साताभर क्रमश: ओरालो लाग्यो। २९ जेठमा प्रतितोला १ हजार ४५ रुपियाँ रहेको चाँदी ३० जेठमा १ हजार ३५, ३१ जेठमा १ हजार २२, १ असारमा १ हजार २५ हुँदै २ असारमा आइपुग्दा १ हजार २२ रुपियाँ कायम भयो। भाउ खासै नघटे पनि असारको पहिलो सातादेखि बजारमा चहलपहल पनि बढ्ने सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यको विश्वास छ। भन्छन्, "बिहेको लगन नजिकिँदै गएपछि बजारमा चहलपहल सुरु हुन्छ भन्ने विगतका वर्षहरूले पनि देखाएको छ।"



अर्थ / बजार

यामाहा एसजेड बजारमा

यामाहा मोटरसाइकलको एक मात्र डिस्िट्रब्युटर मोरङ अटो वक्र्सले यामाहा एसजेड १५० सिरजि नेपाली बजारमा ल्याएको छ। बलियो र भरपर्दो इन्जिन, कम इन्धन खपत गर्ने इलेक्टि्रक स्टार्ट, १५३ सीसी एयर कुल्डसहितका सुविधा भएको एसजेडमा १४ लिटर क्षमताको ट्यांकी छ। मोटरसाइकल किन्न १ लाख ६९ हजार ९ सय रुपियाँ खर्चनुपर्छ।

सिभिलका नयाँ योजना

सिभिल बैँक लिमिटेडले 'सिभिल बैँक बोनान्जा मुद्दती खाता' र 'सिभिल बैँक आमाबुबा मुद्दती खाता' सुरु गरेको छ। एक लाख रुपियाँ जम्मा गरेर खोल्न सकिने यी दुवै मुद्दती खातामा वाषिर्क १२ दशमलव ५ प्रतिशत ब्याज प्रदान गरनिे बैँकले जनाएको छ।

मर्जर निर्णय पारित

शिखर फाइनान्सको हालै सम्पन्न विशेष साधारणसभाले राष्ट्रिय स्तरको विकास बैँक काष्ठमण्डप डेभलपमेन्ट बैँकसँग मर्जर हुने निर्णय गरेको छ। मर्जरपश्चात् पुँजी आधार बलियो भई काम गर्न सजिलो हुने, सञ्चालन खर्चमा कमी भई मुनाफा वृद्धि हुने, आफ्नो सेवा देशका विभिन्न भागसम्म पुर्‍याउन सक्षम हुने विश्वास फाइनान्सले लिएको छ। चालू आर्थिक वर्षको तेस्रो महिनासम्ममा फाइनान्सले ६३ करोड १४ लाख रुपियाँ निक्षेप संकलन र ६१ करोड ७३ लाख रुपियाँ कर्जा प्रवाह गरी १ करोड १० लाख रुपियाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

एनआईसीको सहयोग

एनआईसी बैँकद्वारा सामाजिक दायित्वमा काम गर्ने उद्देश्यले प्रवर्द्धित एनआईसी फाउन्डेसनले मोरङ उर्लावारी-४ स्थित महिला विकास तथा बाल सुधार गृहलाई १ लाख २० हजार रुपियाँबराबरको खाद्यान्न सहयोग गरेको छ। फाउन्डेसनले प्रत्येक महिना १२ हजारका दरले एक वर्षसम्म १ लाख ४४ हजार रुपियाँ सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ। एनआईसी फाउन्डेसनले छात्रवृत्तिका अतिरक्त विभिन्न खालका सामाजिक कार्य तथा अनाथालयलाई आर्थिक सहयोग गर्दै आएको छ। ध

गाभिए हिमचुली र वीरगन्ज

हिमचुली विकास बैँक लिमिटेड र वीरगन्ज फाइनान्स लिमिटेड एकापसमा गाभिएका छन्। गाभिएर बनेको राष्ट्रिय स्तरको 'ख' वर्गको विकास बैँक एच एन्ड बी डेभलपमेन्ट बैँक लिमिटेडले १ असारदेखि बैँकिङ् कारोवार सुरु गरसिकेको छ। एच एन्ड बीको केन्द्रीय कार्यालय काठमाडौँको कमलादीमा रहनेछ। गाभिएपछि बैँकका कुल शाखा २३ र कुल चुक्ता पुँजी ८९ दशमलव ७९ करोड रुपियाँ भएको छ। साथै बैँकको कुल निक्षेप एवं पुँजी ६ दशमलव ३६ अर्ब रुपियाँ र कर्जा लगानी ५ दशमलव ५८ अर्ब रुपियाँ छ। एच एन्ड बीकोको अध्यक्षमा विजयकुमार सरावगी चयन भएका छन्। बैँकले साढे पाँच वर्षमा निक्षेप दोब्बर हुने र निक्षेपको तीन गुनासम्म निक्षेपकर्ताको दुर्घटना बिमाको व्यवस्था भएको 'वान टू थ्री' निक्षेप योजना र साथै आकर्षक ब्याजदर तथा अन्य सुविधा भएको 'वेलकम बचत खाता' पनि सुरु गरेको छ।
http://www.ekantipur.com/nepal/article/?id=2448

Keine Kommentare:

Kommentar veröffentlichen