Montag, 27. Juni 2011

तरलता अभाव चर्काउने गरी ऋणपत्र

नारायण सापकोटा, काठमाडौं, असार १३- रकम अभावमा वित्तीय संस्था चरम संकटमा परेका बेला राष्ट्र बैंकले 'सरकारको आन्तरिक ऋणका लागि' उल्टै बजारबाट ६ अर्ब ६८ करोड रुपैयाँ खिच्न लागेको छ।
वार्षिक १० प्रतिशत व्याजमा 'राष्ट्रिय बचतपत्र २०७३' नामको ऋणपत्र जारी गरेर उसले उक्त परिमाणको रकम बजारबाट तान्न लागेको हो। यसको बिक्री असार १२ देखि १९ सम्म खुला रहनेछ।

विकास खर्च नभएर सरकारी ढुकुटीमा करिब १३ अर्ब रुपैयाँ थन्किएका बेला बजारबाट थप रकम नखिच्न सरोकारवालाले अनुरोध गर्दै आएका थिए।
'तरलता अभावको बेला ऋणपत्र ल्याउँदा वित्तीय क्षेत्रको अवस्था झन् असहज हुन्छ,' बैंकर्स संघका अध्यक्ष अशोक राणाले आइतबार नागरिकसँग भने।

एक महिनाअघि ५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दा पनि बैंकरहरूले गभर्नर युवराज खतिवडासँग 'फेरि बजारबाट पैसा नखिच्न' अनुरोध गरेका थिए।
'हाम्रो अनुरोध स्वीकार गरिएन,' राणाले भने, 'वित्तीय क्षेत्रको अवस्थाप्रति सम्वेदनशील देखिएन।'

राष्ट्र बैंकका एक उच्च अधिकारीले भने सरकारको आन्तरिक ऋण उठाउने तालिकाअनुरुप ऋणपत्र जारी गरिएको बताए।

यसले तरलता अभाव थप बढाउँदैन भन्ने प्रश्नमा उनले भने, 'बजार अवस्था सरकारले बु‰ने कुरा हो।' अर्थ मन्त्रालयले 'ऋणपत्र जारी नगर्नू' नभनेसम्म रोक्ने चलन नभएको उनले उल्लेख गरे।

इन्भेस्टर फोरमका अध्यक्ष सिताराम थपलियाले सबैको सुझावविपरीत 'बजारमा तरलता अभाव चर्काउन ऋणपत्र जारी गरिएको' आरोप लगाएका छन्।
'हाम्रो अनुरोध अस्वीकार गर्दै फेरि ऋणपत्रमार्फत् रकम खिच्न लागिएको छ,' उनले भने, 'यसले तरलता अभाव झनै बढाउने छ।'

केही दिनयता वाणिज्य बैंकहरूमा ६ अर्ब रुपैयाँ निक्षेप बढे पनि तरलता समस्या सुल्भि्कएको छैन। असार अन्तिममा बैंक तथा वित्तीय संस्थाले कर तिर्दा पनि समस्या चर्किने राणाले बताए। 'यस्तो घडीमा ऋणपत्र ल्याएर राष्ट्र बैंकले उल्टो काम गरेको छ,' उनले भने।

अल्पकालीन राहत
राष्ट्र बैंकले अल्पकालीन रूपमा रकम अभाव सुल्झाउन बैंक तथा वित्तीय संस्थाको सम्पत्ति र असल कर्जाको धितोमा ऋण लिन सक्ने व्यवस्था गर्न लागेको छ।
बैंक तथा वित्तीय संस्थाले 'तरलता व्यवस्थापनका लागि मात्र' यस्तो कर्जा प्रयोग गर्न पाउने व्यवस्था गर्न खोजिएको राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए। 'यससम्बन्धी निर्देशन छिट्टै जारी हुँदैछ,' उनले भने, 'यस्तो कर्जा २०६९ असारसम्म राफसाफ भइसक्नुपर्छ।'


वित्तीय संस्थामा तरलता अभाव भई एकपछि अर्को कार्यालय बन्द गर्नुपर्ने अवस्था आएपछि राष्ट्र बैंकले यो उपाय अवलम्बन गर्न खोजेको हो।


यसअघि तरलता अभाव मेट्न विशेष पुनर्कर्जा, साताको दुईपटक रिपो, अन्तिम ऋणदाता सुविधा र साधारण पुनर्कर्जा प्रयोगमा ल्याएको थियो। भिबोर विकास बैंकलाई अन्तिम ऋणदाता सुविधामा ५० करोड दिइएको थियो। अन्य विकास बैंक र वित्तीय संस्थालाई राष्ट्र बैंकले विशेष पुनर्कर्जा उपलब्ध गराउँदै आएको छ। आइतबार पनि ३ वित्तीय संस्थालाई पुनर्कर्जा दिइएको थियो।


तरलता समस्याले चार महिनायता छवटा वित्तीय संस्थामा समस्या आइसकेको छ। पछिल्लोपटक क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले तरलताको अभाव देखाउँदै कार्यालय बन्द गरेको छ। उसलाई कार्यालय खोल्न निर्देशन दिइसकेको राष्ट्र बैंक प्रवक्ता भाष्करमणि ज्ञवालीले बताए।


वित्त कम्पनी संघले भने तरलता अभावमा परेका र सुशासनको समस्या भएकालाई फरकफरक व्यवहार गर्न राष्ट्र बैंकसँग आग्रह गरेको छ। संघका पदाधिकारीसँग दुई डेपुटी गभर्नरले आइतबार छलफल गरेका थिए। समस्यामा पर्नासाथ राष्ट्र बैंकलाई जानकारी दिन आग्रह गरिएको ज्ञवालीले बताए।


'यो क्षणिक समस्या हो, समस्या परेका संस्थालाई सहयोग गरिरहेका छौं,' उनले भने।

http://nagariknews.com/economy/banking-money/28138-2011-06-27-04-24-16.html

Keine Kommentare:

Kommentar veröffentlichen