नारायण सापकोटा, काठमाडौं, असार १ -आर्थिक वर्षको अन्त्यमा बैंकहरुले सेयर कर्जा असुलीमा कडाई गरेपछि सेयर बजार परिसूचक (नेप्से) लगातार घटेर मंगलबार २ सय ९७ अंकमा झरेको छ। सेयर धितो कर्जा लिनेसँग मूल्यघटेजति रकम बुझाउन बैंकहरुले ताकेता गरेपछि बजार झन घटेको हो। बजार ६ वर्ष अगाडीको अवस्थामा पुगेको छ।
'बैंकहरुले सेयर धितोमा दिएको कर्जा ५० प्रतिशतमा सिमित गर्न ताकेता गरेपछि लगानीकर्ता आतंकित भै बजार घटेको हो' लगानीकर्ता सिताराम थपलियाले मंगलबार नागरिकसँग भने।
राष्ट्र बैंकले सेयर धितो कर्जा बजार मूल्यको ६० प्रतिशत सम्म दिन पाउने व्यवस्था गरेको छ। तर राष्ट्र बैंकको निर्देशनमा द्धिविधामा पर्दै बैंकहरुले ५० प्रतिशतमा झार्न ताकेता गरेका हुन्।
बैंक तथा वित्तीय संस्थाले असार सम्मको वित्तीय स्थिति राम्रो देखाउनका लागि समेत कर्जा उठाउनका लागि जोड दिएका हुन्। 'अहिले कर्जा उठाउने र नयाँ ऋण पनि नपाउने अवस्थाले बजारलाई ओरालो लगाएको हो' लगानीकर्ता निर्मल प्रधानले भने।
सेयर दलालले समेत बैंकको कर्जा बुझाउन सेयर बिक्री चाप बढेको बताए। 'अहिले सावाँ र व्याज बुझाउनुपर्ने दवावमा लगानीकर्ता छन्'स्टक ब्रोकर एशोसियशनका अध्यक्ष अन्जनराज पौड्यालले भने। उनले सेयर बिक्रीको चाप बढिरहेको बताए।
बैंकहरुले धितो राखिएको सेयर बिक्री पनि थालेका छन्। ठुला लगानीकर्ताको सेयर बैंकहरुले बिक्री गर्ने प्रक्रिया सुरु गरेका छन्। बैंकहरुले लिलाम गर्ने योगेन्द्र श्रेष्ठ र राकेश अडुकियाको सेयर किन्नका लागि मूल्य घटाउने प्रयास बजारमा भएको छ। 'मूल्य घटाएर बैंकले लिलाम गरेको सेयर हात पार्ने समूह सक्रिय भएकोले पनि बजार अस्वभाविक रुपमा घटेको हो' विश्लेषक रविन्द्र भट्टराईले भने। अस्वभाविक रुपमा मूल्य ओरालो लाग्यै गर्दा सवै लगानीकर्तामा त्रास बढेको उनले बताए।
बैंकहरुले भने सेयर कर्जा उठाउन कडाई भएकोले बजार नघटेको जनाएका छन्।'बैंकहरुले सेयरमा कडाई गरेर बजार तल गएको होइन' बैंकर्स संघका अध्यक्ष अशोक राणाले भने-'सेयरको भाउ तल गएपछि कसैले नकिन्ने भएकोले मूल्य घटेको हो।'
बैंकिङ क्षेत्र केन्द्रीत सेयर बजारमा वित्तीय संस्था समस्यामा परेपछि झन नकारात्मक प्रभाव परेको हो। 'वित्तीय संस्था एकपछि अर्को डुबेको हल्लाले बजारमा लगानीकर्ता हतोत्साहि भएका छन्' पौड्यालले भने।
पछिल्लो समयमा वित्तीय संस्थाबाट निक्षेप फिर्ता हुन थालेपछि संस्था डुब्न थालेका हुन्। यसको नकारात्मक असर सेयर बजारमा परेको हो। केही समयअघि नेपाल विकास बैंक खारेजीमा गयो। त्यसपछि सम्झना फाइनान्स लिक्विडेशनमा लग्ने निर्णय भयो। गोरखा विकास बैंक समस्याग्रस्त घोषणा भयो। नेपाल सेयर मार्केट्स सिघ्र सुधारात्मक कारवाहीमा परेको छ। पिपुल्स फाइनान्सले तरलता व्यवस्थापन गर्न नसकेपछि कार्यालय बन्द गरेपनि पछि चलायो। भिवोर बैंक राष्ट्र बैंकबाट ५० करोड कर्जा लिएर अवस्था सुधार गर्दैछ।
२०६५ भदौ मा १ हजार १ सय ७५ पुगेको सेयर नेप्से लगातार घट्दै आएको नेप्से न्युन विन्दुमा झरेको हो। बजार पुँजीकरण २ खर्ब ६४ अर्बमा झरेको छ। बढ्दा बजार पुँजीकरण ६ खर्ब १२ पुगेको थियो। यो अवधिमा बजार पुँजीकरण ३ खर्ब ४८ अर्बले घटेको छ। बजार पुँजीकरण बजारमा सूचिकृत कम्पनीको सेयर मूल्य हो।
'बजार जति घटेपनि सरकारी निकायले सम्वोधन नगरेकोले लगानीकर्ताले ठुलो पुँजी गुमाएका छन्' थपलियाले भने-'घटेको रकमको २५ प्रतिशत सरकारी संस्थाले बजारमा लगानी गर्नुपर्छ।' लगानीकर्ताले बजार जति घटेपनि सरकारी निकायले सुधारका लागि कुनै प्रयास नगरेको गुनासो गरेका छन्।
सेयरधितो कर्जाको सिमा हटाउने निर्णय
सेयर बजार लगातार घटेपछि अर्थमन्त्री भरतमोहन अधिकारीको संयोजकत्वमा रहेको उच्चस्तरिय वित्तीय क्षेत्र समन्वय समितिले सेेयरधितो कर्जामा राष्ट्र बैंकले सिमा नलगाउने निर्णय गरेको छ। यो निर्णयसँग राष्ट्र बैंकले बजार मूल्यको ६० प्रतिशत मात्र सेयर धितो कर्जा दिन पाउने व्यवस्था हटाउँदै बैंकहरुलाई नै आवश्यकता अनुरुप कर्जा दिन सक्ने व्यवस्था गर्ने भएको छ। 'बैंकहरुले नै सेयर धितो कर्जा कति सम्म दिने भन्ने निर्णय गर्नेछन्' धितोपत्र बोर्डका अध्यक्ष शुरविर पौड्यालले भने।
राष्ट्र बैंकले सेयर धितो कर्जाको अधिकार बैंकहरुलाई नै दिने लगायतका विषयमा निर्णय गर्न अध्ययन सुरु गरेको छ। सेयरको मूल्य घटेपछि त्यहि अनुरुप कर्जा बुझाउनुपर्ने व्यवस्था लगायतका सम्वन्धमा अध्ययन थालिएको छ। 'सेयर बजारलाई सहयोग पुर्याउने विषयमा अध्ययन सुरु भएको छ' राष्ट्र बैंक प्रवत्ता भास्कर ज्ञवालीले भने।
असार सम्म बैंक तथा वित्तीय संस्थाले एक अर्काको सेयर बिक्री गरिसक्नुपर्ने व्यवस्थालाई पनि लचिलो बनाउने निर्णय उच्चस्तरिय समितिले गरेको छ। मंगलबार संस्थागत लगानीकर्तालाई संस्थागत नभै दोस्रो बजारबाट सेयर किन्नका लागि अर्थमन्त्रालयले निर्देशन दिएको छ। अर्थसचिव कृष्णहरि बाँस्कोटाको कार्यकक्षमा भएको बैठकमा नेपाल टेलिकमका प्रतिनिधिलाई समेत सेयरमा लगानी गर्न निर्देशन दिईएको छ।
बैठकमा कर्मचारी संचयकोष, नागरिक लगानी कोष र राष्ट्रिय विमा संस्थानलाई बजारमा लगानीका लागि आग्रह गरिएको थियो।
सेयर किन्न आग्रह
बोर्डका अध्यक्ष पौड्यालले समग्र वित्तीय क्षेत्र संकटमा नरहेको जनाउँदै सेयर खरिद गर्न लगानीकर्तासँग आग्रह गरेका छन्। 'केही वित्तीय संस्थामा समस्या भएपनि धेरैमा समस्या छैन' उनले भने।
प्राविधिक विश्लेषणका आधारमा अहिले सेयर किन्न उपयुक्त भएको पौड्यालले बताए। उनले बोर्ड र स्टक एक्सचेन्जका कर्मचारीलाई समेत सेयर किन्न दिनुपर्ने प्रस्ताव गरेका छन्।'पदमा रहुन्जेल बिक्री गर्न नपाउने गरि नेप्से र बोर्डका कर्मचारीलाई समेत सेयर किन्न दिने प्रस्ताव सञ्चालक समितिमा लग्दैछु' उनले भने।
सेयर विश्लेषक भट्टराईले सरकारले सेयर बजारमा लगानी गर्न संस्थालाई लगाउनुपर्ने सुझाव दिंदै बजारमा अहिले किन्ने समय आएको बताए। 'अब सेयरको मूल्य हेर्दा बैंकको व्याज भन्दा यसमा लगानी गर्दा फाइदा हुन्छ' उनले भने।
कारवाहीमा परेकाको सेयर बिक्री गर्न पाईने
बैंकिङ कसुरको कारवाहीमा परेका व्यक्तिले धितो राखेको सेयर बिक्री गरि कर्जा उठाउने अनुमति राष्ट्र बैंकले दिन थालेको छ। बैंकको कर्जा उठाउने गरि रोक्का रहेका सेयर बिक्री गर्न पाउने स्वीकृति राष्ट्र बैंकले दिएको हो।
नेपाल विकास बैंक, सम्झना फाइनान्स, युनाईटेड विकास बैंक, गोरखा विकास बैंक, नेपाल सेयर मार्केट्सका करिव ३० सञ्चालक, कार्यकारी प्रमुख लगायत बैंकिङ कसुरको कारवाहीमा परेका छन्। कारवाहीमा नपरेका धेरैको पनि सम्पक्ति रोक्का छ। यो कसुरमा परेका धेरैको सेयर बैंकहरुले बिक्री गर्ने प्रक्रिया सुरु गरेका छन्।
http://nagariknews.com/economy/industries/27679-2011-06-14-13-38-59.html
Abonnieren
Kommentare zum Post (Atom)

Keine Kommentare:
Kommentar veröffentlichen