Dienstag, 25. Januar 2011

युनाइटेड विकास बैंकसँग स्पष्टीकरण माग

नारायण सापकोटा, काठमाडौं, माघ १०- बैंक संस्थापक र संचालकहरुले कर्जा लिएर कानुनको ठाडो उल्लघन गरेको फेला परेपछि राष्ट्र बैंकले युनाईटेड विकास बैंकलाई ३५ दिने स्पस्टिकरण सोधेको छ।

'प्रारम्भिक अनुसन्धानमा संस्थापक र सञ्चालकले बैंकको कर्जा प्रयोग गरेको फेला परेको छ,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने ' संस्थापक र संचालकहरुले कर्जा लिनु बैंकिङ कानुनको ठाडो उल्लघन हो।' अनुसन्धानमा यिनीहरुले उच्च जोखिम लिएर धितो नराखी कर्जा प्रवाह गरेकोसमेत भेट्टिएको ती अधिकारीले बताए।

बैंकको संस्थागत सुशासन धेरै नाजुक देखिए पछि राष्ट्र बैंकले गत साता युनाइटेडका कार्यकारी अध्यक्ष रविन्द्रबहादुर सिंहलाई स्पस्टिकरण पत्र पठाएको हो। व्यवस्थापन व्यवसायिक नभएकाले यो बैंकले पटक पटक वित्तिय अनुसासन तोडीरहेको छ। तीन जिल्लामा कार्यक्षेत्र भै बारामा केन्द्रीय कार्यालय रहेको यो बैंकलाई २०६३ मा राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो। खराव कर्जा घटने र पुँजीको अवस्था सकारात्मक भएपछि २०६६ मा समस्याग्रस्तबाट मुक्त गरिएको थियो। 'फेरि बैंकको सुसासन नराम्रो देखिएपछि स्पस्टिकरण सोधिएको हो' ती अधिकारीले भने।

बैंकलाई फेरि समस्याग्रस्त घोषणा गर्ने वा सोझै अन्य कारवाही प्रक्रिया अगाडी बढाउने भन्ने कुराको निर्णय जवाफ आएपछि लिइने उनले बताए। पटक पटक समस्यामा परेको यो बैंकका विषयमा गम्भीर निर्णय लिनुपर्ने राय राष्ट्र बैंकका अधिकारीहरुले गभर्नर युवराज खतिवडालाई दिंदै आएका छन्।

बैंकमा नेपाली सेनाको निक्षेप करिव ७ करोड छ। सर्व साधारणको भने करिव १ करोड ५० लाख मात्र छ। बैंक व्यवस्थापनले अरु दुई वित्तीय संस्थाको ६ करोड निक्षेप फिर्ता भइसकेको जानकारी राष्ट्र बैंकलाई दिएको छ।
'बैंकले सर्वसाधारणलाई करिव १ करोड ५० लाख रुपैयाँ मात्र कर्जा दिएको र 'केही कर्जा अनियमित रुपमा प्रवाह भएको देखिएको छ,' ती अधिकारीले भने।

यो विकास बैंकले लामो अवधिसम्म सर्वसाधारणलाई सेयर बिक्री नगरेकोले निक्षेप संकलन र कर्जा प्रवाहमा राष्ट्र बैंकले रोक लगाइसकेको छ। बैंकको अवस्था खराव भएपनि सर्वसाधारणको रकम थोरै भएकाले डुब्ने स्थिति छैन। तर, संस्थागत निक्षेप संकटमा पर्नसक्ने उनले बताए।

लामो अवधि सम्म सर्वसाधारणलाई सेयर बिक्री नगरेपछि केहिसमय अघि यसलाई राष्ट्र बैंकले किन खारेज नगर्ने भनी स्पष्टिकरण सोधेको थियो। यसको चित्तबुझ्दो जवाफ बैंकले दिएको छैन। अहिलेसम्म धितो पत्र बोर्डमा सेयर बिक्री स्वीकृतिका लागि आवेदन दिएको छैन।

गत असारसम्म बैंकसँग ८ करोड ८४ लाख निक्षेप र कर्जा १३ करोड ४१ लाख छ। यस्तै बैंकको चुक्तापुँजी ८ करोड २ लाख रुपैयाँ छ भने बैंकको खराव कर्जा बढ्दै गएको छ। २०७० सम्म १० करोड चुक्तापुँजी पुर्‍याउनुपर्ने राष्ट्र बैकको निर्देशन पनि पालना हुने अवस्थामा छैन। बैंकमा पटक पटक नयाँ लगानीकर्ता आएका छन्। नयाँ लगानीकर्ता आएर बैंकको अवस्था विगतमा एक पटक सुधार भएको थियो।
Source:http://nagariknews.com/economy/industries/22715-2011-01-24-05-12-28.html

Keine Kommentare:

Kommentar veröffentlichen