Freitag, 4. März 2011

अर्थतन्त्र दोहोरो अंकले बढ्न कुनै गाह्रो देख्दिनँ म: सिनोभेसन्सका कार्यकारी निर्देशक वरुण चौधरी(26)

काठमाडौ, फाल्गुन २० - चौधरी ग्रुपले बहुराष्ट्रिय कम्पनीका रुपमा गरिरहेको विस्तार अहिले चर्चामा छ । केही दिनअघि भारतमा ८ अर्ब रुपैयाँ लगानीको घोषणापछि यसबारे थप बहस पनि भइरहेको छ । ग्रुपअन्तर्गत विदेशमा लगानी गर्दै आएको सिनोभेसन्सका कार्यकारी निर्देशक वरुण चौधरी काठमाडौंमा छन् । अस्ट्रेलियाबाट एमबिए गरेका २६ वर्षीय चौधरी दुबईका गैरआवसीय नेपाली हुन् । यसै विषयमा उनीसंग गरिएको कुराकानीको संक्षेप-

चौधरी ग्रुपले भारतमा ठूलो लगानीको घोषणा गरेको छ । नेपालबाट यसरी पैसा लैजान पाइन्छ ?

चौधरी ग्रुपले त सारा नेपालमा मात्र लगानी गरेको छ । केही वर्षअघि तीन कम्पनी चलाउने चौधरी ग्रुपअन्तर्गत नेपालमा अहिले ११ कम्पनी पुगिसकेका छन् । यसरी विस्तार भएका अन्य उद्योग नेपालमा थोरै होलान् । यो सबै बुबा (विनोद) को रेखदेखमा दाइ निर्वाणले सम्हाल्दै आउनुभएको छ । विदेशमा भएको लगानी भनेको सिनोभेसन्सको हो । म र मेरो माहिलो दाइ राहुल गैरआवासीय नेपाली हौं । यो हामीले चलाइरहेका छौं । देशअनुसार फरक साझेदारहरूसँग मिलेर काम गरिरहेका छौं । त्यसैले यो चौधरी गु्रपको लगानी होइन । बरु हाम्रो बुद्धि र विश्वासमा बैंक र स्थानीय सझेदारबाट लगानी हुन लागेको हो ।

तपाई पढ्न गएको मान्छे कसरी सम्भव हुन्छ यति ठूलो व्यवसाय ?

नेपालको परिप्रेक्ष र बाहिर धेरै फरक भइसकेको छ । बाहिर पढेपछि झन रुचि बढ्यो । त्यहाँको फाइनान्सियल, क्यापिटल मार्केट परिपक्व भइसकेको छ । त्यहाँ व्यवसाय गर्न एउटा ब्रान्ड, एउटा आइडिया, आन्तरिक प्रतिफल दर (आइआरआर) र चुस्त व्यावसायिक योजना भए पुग्छ । आइआरआर म्याच गर्ने आइडिया र कार्यान्वयन गर्ने क्षमता देखियो भने भेन्चर क्यापिटल, प्राइभेट इक्विटी, फन्ड, फाइनान्सियल इन्स्िटच्युसनले आफैं लगानी गर्छन् । त्यहीअनुसार हामीले काम गरिरहेका छौं ।

ल नेपालको ब्रान्ड र विश्वसनीय व्यावसायिक योजनाका आधारमा लगानी भएको भन्न खोज्नुभएको ?

म ७ वर्ष भयो दुबई बसेको । २००४ मा त्यहाँ हामीले रियलस्टेटमा हात हाल्यौं । ठीक समयमा ठीक व्यवसाय थालिएकाले त्यसबाट निकै राम्रो भयो । २००६/२००७ मा ६/७ गुणा बढी मूल्य पाएपछि हामीले फाइदा उठायौं । त्यसैका आधारमा व्यवसाय विस्तार भइरहेको छ ।

कति लगानी छ त विदेशतिर ?

त्यो त म ठ्याक्कै भन्न सक्दिनँ । दाइ (राहुल) ले होटल हेर्नुहुन्छ । मैले रियलस्टेट र अरू हेर्छु । श्रीलंका, मालदिभ्स, भारत, थाइल्यान्ड, उत्तर अपफ्रिका, अमेरिका, मध्यपूर्वमा पनि होटल छन् । उत्तराखण्डको रुद्रपुरमा, आसाम र सिक्किममा तीन वटा फ्याक्ट्री छन् । रुद्रपुर उत्पादनमा आउँदै छ । गुजरातमा अर्को उद्योग खोल्न योजना छ । अपि|mका र मध्यपूर्वमा पनि जाँदै छौं । यो सब सिनोभेसन्सको हो । त्यसबाहेक नेपाल भारत, श्रीलंका र अपि|mकामा एकैपल्ट सिमेन्ट उद्योग खोल्दै छौं । कुनै सम्भाव्यता अध्ययनको चरणमा छन्, कुनै सकिइसके । नेपालको दुम्कीबासमा यो निकै अघि बढिसकेको छ । सबै कुरा सोचेअनुसार भए ३/४ वर्षभित्र सञ्चालनमा ल्याउने ढंगले काम गर्दै छौं । राजस्थानमा सौर्य ऊर्जा सुरु गर्दै छु । ५ मेगावाटको योजना हो यो ।

हालै भारतमा हिन्दु दैनिकले चौधरी ग्रुपले ५ अर्ब करोड भारु लगानी गर्ने भनेर तपाईको बुबा (विनोद) को अन्तर्वार्ता छापेको थियो । यो के हो ?

लगानीको परिमाण सही हो । त्यो भनेको ८ अर्ब रुपैयाँ हो । तर त्यो चौधरी गु्रपको लगानी होइन, सिनोभेसन्सको हो । सिनोभेसन्स र सिजीको प्राविधिक सम्झौता छ । हामीलाई उहाँहरूले प्राविधिक सहयोग दिनुहुन्छ । विदेशमा स्थानीय साझेदारसँग मिलेर काम गरिरहेका छौं । कतै हामी व्यवस्थापन शुल्क बापत इक्विटी लिएका छौं । कतै प्राविधिक सहयोगबापत पनि हिस्सेदार भएका

छौं । सिनोभेसन्सको डेढ दशकको इतिहास भइसकेको छ । तर चौधरी ग्रुपको ब्रान्डले धेरै सघाउ पुगेको छ । चाउचाउ, सिमेन्ट लगायत उद्योगमा जान लागेका हौं ।

तपाईहरूको आइडिया र इनोभेसन्सले मात्र यति धेरै लगानी सम्भव छ ?

तपाईसँग के छ भन्ने मात्र होइन, अहिले पैसा भएका तर काम गर्न नसक्नेहरू धेरै छन् । त्यस्ता धेरैको विश्वास छ हामीसँग । रतन टाटासँग पनि हाम्रो साझेदारी छ । यस्तै धेरैसँग मिलेर सम्भव भएको हो । त्यसमाथि नाफा र बैंकको लगानीबाट विस्तार भइरहेको छ । भारतको दुई उद्योगबाट उत्पादिन चाउचाउको नाफा उतै लगानी गरिरहेका छौं । भारतमा हामीलाई बैंकहरूले १० अर्ब भारुको लाइन अफ क्रेडिट दिन स्वीकृति दिएका छन् । आवश्यक परे बंैकको नाम नै भन्न सकिन्छ । तर त्यसमध्ये ५ अर्ब मात्र लगानी गर्दर्ै छौं । अलिकति नयाँ सोच र व्यवस्थित योजना भए व्यवसायलाई विश्वव्यापीकरण गर्न अब धेरै सजिलो भएको छ ।

सिनोभेसनलाई अब बहुराष्ट्रिय नेपाली कम्पनी भन्न सकिन्छ ?

पक्कै पनि । यो अव सबै नेपालीले गर्व गर्न सक्ने ख्यातिप्राप्त ब्रान्ड हुने तरखरमा छ । यसलाई हामी अझै उचाइमा पुर्‍याउन चाहन्छौं ।

तपाई दाजुभाइले सञ्चालन गरेको भन्नुहुन्छ तर होटल उद्घाटनदेखि भारतमा पुग्दा पनि तपाईको बुबाकै नाम आउँछ । उहाँ उपस्थित हुनुहुन्छ । यो चाहिँ किन ?

आधुनिक शिक्ष्ााबाट हामीले लिएको ज्ञान र बुबाको अनुभवको मिश्रण भन्न मन पराउँछु सिनोभेसन्सलाई । हाम्रो विचार बुबालाई सुनाउँछौ । उहाँले प्रेरणा दिनुहुन्छ । यो पनि त्यही हो । एउटा छोराको व्यवसायमा सल्लाह सुझाव दिने र सहयोग गर्नु त बुबाको कर्तव्य नै हो नि । हामीले त्यही पाइरहेका छौं ।

नेपालमा लगानीको अवस्था कस्तो देखिन्छ विदेशबाट हेर्दा ?

राजनीतिक स्थिरता भनेको धेरै महत्त्वपूर्ण कुरा हो । जुन भारत र श्रीलंकाले हामीलाई देखाइरहेको छ । भारतमा ९/१० प्रतिशतको वृद्धि छ । भारतको उत्तरपूर्वमा १३/१४ प्रतिशत छ । नेपालमा पनि राजनीतिक स्थिरता भइदिए लगानीको कुनै दुःख हुँदैन । अर्थतन्त्र दोहोरो अंकले बढ्न कुनै गाह्रो देख्दिनँ म । राजनीतिक अस्थिरता जस्तै पछिल्लो समय चर्को लोडसेडिङ पनि समस्याका रूपमा आएको छ । अब नेपालमा पनि सरकारले लगानी गर्नेलाई कर छुट, बिमा छुटलगायत सहुलियत घोषणा गरेका छन् । हामीले पनि त्यही सुरु गर्नुपर्छ । लगानीमैत्री वातावरण मात्र आवश्यक छ ।

मसल्स भएका मध्यपूर्व जाने, ब्रेन भएका युरोप अमेरिका जाने गरेका छन् नेपाली । नेपालको भविष्य के त अब ?

होइन, छ । पहिलो दर्जाको नागरिक हुनु धेरै फरक कुरा हो । भारतमा हेर्नुस् विदेशबाट फर्किरहेका छन् । हामीले पनि आर्थिक वृद्धि गराएर अवसर सिर्जना गर्न सक्यौं भने नेपालीहरू फर्किन्छन्, मलाई विश्वास गर्नुस् । मेरो कुरा गर्ने हो भने बाहिरको ज्ञान, अनुभव, प्रतिस्पर्धामा कसरी काम गर्ने भनेर सिक्न म बाहिर बसेको हुँ । यसले आँट गर्न र जोखिम लिन सिकाउँछ । नाफाको सिद्धान्त छ नि, नाफा भनेको जोखिम लिएबापतको पुरस्कार हो । मानवीय सम्पत्ति सबैभन्दा ठूलो कुरा हो । म त्यसैको पूर्णताको खोजीमा छु ।

त्यसका लागि के गर्नुपर्छ त ?

नेपालमा लगानीको वातावरण बनाउन सकियो भने पुँजी पलायन हुँदैन । विकासले गति लिएमा यही अनन्त सम्भावना छ । बिहारको आर्थिक वृद्धिदर अहिले १३ प्रतिशत छ । नीतीशकुमारले बिहारको र नरेन्द्र मोदीले गुजरातको पहिचान नै बदलिदिए । मोदीले करिब डेढ महिनाअघि संसारभरका लगानीकर्ता बोलाएर सेमिनार गरे । म पनि थिएँ । तत्काल अर्बाैं डलर लगानीको प्रतिबद्धता भयो । नेपालमा पनि त्यस्तै पहलको खाँचो छ ।





प्रकाशित मिति: २०६७ फाल्गुन २० ०९:५२
http://www.ekantipur.com/np/2067/11/20/full-story/325944.html

Keine Kommentare:

Kommentar veröffentlichen