काठमाडौ, वैशाख ६ - राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले सबै बैंक सुरक्षित भएकाले निर्धक्क आफ्नो बचत जम्मा गर्न आग्रह गरेका छन् । आइतबार उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रममा उनले निक्षेप बढे मात्र कर्जाको ब्याजदर पनि घट्ने हुँदा व्यवसायीलाई आफूर्सग भएको पैसा बैंकमा राख्न आग्रह गरे ।
'बैंकहरूको जिम्मेवारी राष्ट्र बैंकले लिन्छ,' उनले भने, 'निर्धक्क भएर बचत गर्नुस् ।' बैंकमा तरलताको अभाव भएर कर्जाको ब्याजदर निक्कै बढाएकाले आन्दोलनसमेत गर्ने चेतावनी व्यवसायीले दिएपछि उनले यो प्रतिक्रिया दिएका हुन् । ब्याजदर पहिलेजस्तो निक्कै तल झर्ने अपेक्षा नगर्न आग्रह गर्दै उनले भने, 'सबै मिलेर समस्या सम्बोधन गर्नुपर्छ ।'
बैंकमा रकम जम्मा गर्दा वा घरजग्गा खरिद गर्दा स्रोत खुलाउनुपर्ने व्यवस्थालाई समेत अन्तर्राष्ट्रिय प्रतिबद्धता पालन गर्दै सकेसम्म खुकुलो बनाउन प्रयास गर्ने जानकारी गभर्नरले दिए ।
'जल विद्युत्लगायत क्षेत्रमा लगानी गर्दा स्रोत नमागिने भनिएकै छ,' उनले भने, 'अन्तर्राष्ट्रिय प्रतिबद्धतामा असर नपर्ने गरी अन्य क्षेत्रमा खुकुलो हुनेबारे सोचिरहेका छौ ।'
बैंकहरूले आफ्नो ग्राहक चिनौं (केवाइसी) नीतिअनुरूप १० लाखभन्दा बढी रकम जम्मा गर्दा स्रोत खुलाउनुपर्ने व्यवस्था गरेका छन् । यसैगरी ३० लाखसम्मको जग्गा र ५० लाख रुपैयाँसम्मको घरजग्गा किनबेचमा पनि यस्तै स्रोत खुलाउनुपर्ने अनिवार्य व्यवस्था छ । यसरी स्रोत खुलाउँदा छानबिन हुने डरले धेरैले बैंकमा रकम जम्मा गरिरहेका छैनन् । 'यो व्यवस्था अन्तर्राष्ट्रिय रूपमा हतियार बेचबिखन, आतंकवादी गतिविधि वा लागू पदार्थ बेचेर कमाएको रकम बैंकमार्फत वैध बनाउन नसकियोस् भनेर ल्याइएको हो,' खतिवडाले भने, 'अन्य स्रोतबाट आएको रकमको स्रोत खुलाउँदा करलगायत अन्य कुनै पनि प्रयोजनका लागि खोजबिन हुँदैन ।'
ब्याज कहिले घट्छ भनी महासंघका अध्यक्ष कुशकुमार जोशीले देखाएको चासोबारे जवाफ दिँदै उनले भने, 'पहिले जस्तो १० देखि १० दशमलव ५ प्रतिशत ब्याजमा अब कर्जा पाइँदैन ।' तरलता अभावका कारण बैंकहरूको लागत बढेकोले ब्याजदर तत्काल घट्ने सम्भावना नदेखिएको बताउँदै उनले बैंक तथा वित्तीय संस्थालाई केही विशेष योजनामा मात्रै ब्याज बढाएको आधारमा कर्जाको ब्याज नबढाउन सचेत गराए । 'बैंकहरूले पनि सर्वसाधारणले गर्ने सबै बचतमा ब्याज बढाउनुपर्यो,' उनले भने । अहिले साधारण तथा बैंक तथा वित्तीय संस्थाले निश्चित अवधिको मुद्दती निक्षेपमा मात्रै बढी ब्याज दिने योजना ल्याएका छन् । साधारण बचतमा भने कर्जाको तुलनामा ब्याज बढेको छैन ।
बैंकहरूको कर्जा र बचत ब्याजदरबीचको फरक -स्प्रेडदर) बारे पनि केन्द्रीय बैंकले अध्ययन गरिरहेको जानकारी उनले दिए । 'स्प्रेडदरबारे एक डेढ महिनामा प्रतिवेदन आउँछ,' उनले भने ।
सामान आयात गरेको ट्रकको भुक्तानी दिन नगद भारतीय रुपैयाँ नपाएको भन्ने व्यवसायीको गुनासोमा टिप्पणी गर्दै उनले चाहिएजति भारु उपलब्ध गराइएको जानकारी दिए । 'नेपालमा कानुनी मान्यता भएको नेपाली रुपैयाँ मात्रै भएकोले त्यसैमा भुक्तानी गर्नुस्, उनले भने, 'नेपालभित्र भारु ट्रकलाई दिन वा अन्य प्रयोजनका लागि चाहियो भन्दै जानुभयो भने कानुनी कारबाही हुन्छ भनेर सूचना जारी गर्नु नपरोस् ।' आयात निर्यातका लागि ड्रापmट टिटी सुविधा उपलब्ध भएको पनि उनले बताए ।
कार्यक्रममा अध्यक्ष जोशीले कर्जाको ब्याजदर घट्नुपर्ने विषयलाई प्रमुखताका साथ उठाएका थिए । 'कस्ट अफ फन्ड बढेको अनुपातमा ब्याजदर निर्धारण हुनुपर्यो,' उनले भने । यसैगरी बैंकको ब्याज तिर्ने समयसीमा पनि बढाउन उनले आग्रह गरे । महासंघको तर्फबाट बैंकिङ क्षेत्रबारे प्रस्तुति गरेका पशुपति मुरारकाले एक वर्षको अवधिमा १ प्रतिशत कस्ट अफ फन्ड बढ्दा बैंकहरूले ४ देखि ७ प्रतिशतसम्म ब्याज बढाएको आरोप लगाए । बैंकर्स संघका उपाध्यक्ष राजनसिंह भण्डारीले बैंक पारदर्शी भएको दाबी गर्दै ब्याजदर बढाउनु रहर नभई बाध्यता भएको बताए ।
घरजग्गा व्यवसायी संघका अध्यक्ष इच्छाराज तामाङले ब्याज नघटे असार मसान्तदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिए । महासंघ जल विद्युत् समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले जल विद्युत्मा भारतीय लगानी सजिलो बनाए तरलताको समस्यासमेत समाधान हुने दाबी गरे । सभासद एवं महासंघका सल्लाहकार दिवाकर गोल्छाले तत्काल अहिलेको समस्या समाधान नभए ठूलो संकट आउने बताए ।
अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार केशव आचार्यले समस्याको नीतिगत र व्यावहारिक पक्ष पहिचान गरी समाधान खोज्नुपर्ने बताएका थिएhttp://www.ekantipur.com/np/2067/1/6/full-news/310235/

Keine Kommentare:
Kommentar veröffentlichen